काठमाडौं ।विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता रहेको एउटा पसल चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको खुलेको छ।
विराटनगर महानगरपालिका–२ स्थित एभरपिक सप्लायर्समा गरिएको संयुक्त अनुगमनका क्रममा यस्तो अवस्था फेला परेको हो।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि सम्मिलित टोलीले सोमबार पसलको अनुगमन गरेको थियो।अनुगमनका क्रममा व्यवसाय राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको देखिए पनि दैनिक व्यापारिक गतिविधि भने चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गरिरहेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले बताए।
टोलीले पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्री कहाँबाट खरिद गरिएको हो भन्ने यकिन गर्न सम्पूर्ण खरिद बिल तथा अन्य आवश्यक कागजात पेश गर्न सञ्चालक पक्षलाई निर्देशन दिएको छ। व्यवसायको कारोबार, सामानको स्रोत र सञ्चालनसँग सम्बन्धित कागजातसमेत जाँच भइरहेको कार्यालयले जनाएको छ।पसल सञ्चालनमा संलग्न चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि उनलाई अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाली नागरिकको नाममा व्यवसाय दर्ता गरेर विदेशी नागरिकले प्रत्यक्ष रूपमा व्यापार सञ्चालन गरेको विषयमा सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको छ। अनुगमनका क्रममा संकलन गरिएका कागजात र खरिदसम्बन्धी प्रमाणको अध्ययनपछि व्यवसाय सञ्चालनको कानुनी अवस्था तथा कारोबारबारे थप तथ्य खुल्ने अधिकारीहरूले बताएका छन्।