काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन्। प्रहरीका अनुसार सामाजिक सञ्जालमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडालाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको थियो।प्रसाईंको अभिव्यक्तिलाई लिएर सांसद खतिवडाले यसअघि प्रतिनिधिसभामा समेत विषय उठाएकी थिइन्। असोज ६ गते संसदमा बोल्दै उनले आफूविरुद्ध गरिएको टिप्पणीले स्तब्ध बनाएको बताउँदै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
त्यसपछि खतिवडाले साइबर ब्यूरोमा अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिएको प्रहरी अधिकारीले बताएका छन्। उजुरीमा प्रसाईंको अभिव्यक्तिले आफ्नो चरित्रमा आघात पुगेको तथा सहिदको समेत अपमान भएको दाबी गरिएको बताइएको छ।पक्राउ परेका प्रसाईंलाई प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ। उनी यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै र छुट्दै आएका छन्। पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको अवधिमा समेत उनी पटक–पटक पक्राउ परेका थिए।बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि पनि प्रसाईं पक्राउ पर्ने र रिहा हुने क्रम दोहोरिएको बताइएको छ। पछिल्लो पक्राउ भने साइबरसम्बन्धी उजुरीमा अनुसन्धानका क्रममा भएको प्रहरीले जनाएको छ।