पेरिस– कोरोना महामारीका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।
युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल सञ्चालन गर्ने वा नगर्ने अन्योल थियो ।
युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ । दुवै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइनेछैन । च्याम्पियन्स लिग आगामी अगस्ट १२ मा सुरु हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।
यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ । युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले अर्को सूचना नभएसम्म दर्शकहरूबिना नै दुवै प्रतिस्पर्धा आयोजना गरिने बताउँदै आफूहरु कुनै जोखिम लिने स्थितिमा नरहेको जानकारी दिए ।