एजेन्सी– दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ। मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए। गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो।
सोमबार पुनः अर्को अपिल जारी गर्दै बेन्ट्ली वरपरका मानिसलाई आ–आफ्नो घर वरिपरिका झाडीमा केही शङ्कास्पद चिज भेटिए खबर गर्न भनिएको छ। यस्तै उक्त दिन सोही क्षेत्र भई आवतजावत गरेका व्यक्तिको गाडीको ‘डेसक्याप’ पनि हेर्न अनुरोध गरिएको छ। खासगरी गाडीमा जडित उक्त यन्त्रले बाहिरी वातावरणको दृश्य कैद गर्दछ।
रिचार्डको खोजीका लागि तालिमप्राप्त कुकुरहरू र हेलिकोप्टरको पनि प्रयोग गरिएको छ। उनको घर नजिकैको जङ्गलमा प्रहरीको छुट्टै टोलीले खोजतलास तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी कूटनीतिक क्षेत्रका एक अब्बल व्यक्ति गुमाएको र उनलाई अझै सकुशल अवस्थामा भेट्टाउने आशा रहेको व्यक्त गरेका छन्। बेपत्ता रिचार्ड मोरिस नेपालका लागि सन् २०१५ देखि २०१९ सम्म रातदूतका रुपमा कार्यरत थिए।
स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउन पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ। सोमबार यहाँको नेशनल हेल्थ सर्भिस–एनएचएसले आधिकारिकरूपमा सो कुरा बताएको हो। यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन।गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो।
बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताएका छन्।कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ।
प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताएका छन्। किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो। रासस