विहिबार प्रकाशित अधिकांंस पत्रपत्रीकाहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको अन्तरविरोधलाई प्रमुख समाचार बनाएका छन् । नेकपाको बुधबार बसेको सचिवालय बैठकमा नेताहरुले राखेका प्रस्ताव, अडान र भनाइले पत्रपत्रिकाको अग्रपृष्ठ ओगटेका छन् ।
कान्तिपुर दैनिकले सचिवालय बैठकमै ओलीको राजीनामा माग भन्ने मुख्य शिर्षकमा प्रधानमन्त्रीको काउण्टर प्रस्तावः गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष उपशिर्षकमा समाचार बनाएको छ । उक्त समाचारमा पत्रकार दुर्गा खनाल र विनु सुवेदी लेख्छन्ः
अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् ।
प्रधानमन्त्री ओलीले भने आफ्नो राजीनामाको काउन्टर प्रस्तावका रूपमा वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
गौतमले यसअघि संविधान संशोधनमार्फत राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गरेका थिए । त्यसबेला केही व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा जायज नहुने निष्कर्षमा नेकपा पुगेको थियो । तर बुधबार प्रधानमन्त्री ओलीले नै गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरे । स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावलाई उपाध्यक्ष गौतमले चलाखीपूर्वक जवाफ दिएका छन् । ‘प्रधानमन्त्रीले यो कुरा असल मनसायले ल्याउनुभएको हो भने ठीक छ तर पहिले तपाईं राजीनामा गर्नुहोस्, अनि को, कसरी प्रधानमन्त्री बन्छ भन्ने पार्टी कमिटीले निर्णय गर्छ,’ गौतमले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो ।
(थप समाचारका लागि कान्तिपुर दैनिक हेर्नुहोला ।)
नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री ओली राजीनामा दिन तयार, 'कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष' शिर्षकको समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ । समाचारमा शुरोजङ्ग पाण्डे लेख्छन्ः
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ । नयाँ प्रस्तावबारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको छ ।
‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनमा दिन्नँ । हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । यस्तो वेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ ।’
वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो । त्यस्तै ओलीले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् ।
(थप समाचारका लागि नयाँ पत्रिका दैनिक हेर्नुहोला)
अन्नपुर्ण पोष्टले आज प्रधानमन्त्री ओलीको अर्को अस्त्र भन्ने शिर्षकमा गौतमलाई प्रधानमन्त्री, नेपाललाई तेस्रो अध्यक्ष उपशिर्षक राखेर समाचार बनाएको छ । समाचारमा रामकृष्ण् अधिकारी लेख्छन्ः
नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्याखर्याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर।कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामो भूमिका बाँध्दै ओलीलाई भने, ‘तपाईंले पार्टी र सरकार दुवै स्वेच्छाचारी ढंगले चलाउनुभयो। अब दुवै पदबाट राजीनामा दिनुहोस्।’‘ल ठीकै छ’, प्रधानमन्त्रीको जवाफ थियो, ‘म कोरोना संकट टरेपछि प्रधानमन्त्री छाड्छु।
संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। अनि, पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाऔं।’त्यसपछि गृहमन्त्री रामबहादुर थापा आवेशमा आए। ‘तपाईंहरू दुवै अध्यक्षका कुरा असान्दर्भिक र निरर्थक छन्। पार्टी फुटाउन देशभित्र र बाहिर विभिन्न शक्तिको चलखेल बढिरहेका बेला तपाईंहरू अनावश्यक लफडामा फसिरहनुभएको छ’, उनले भने।
नेकपा सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको थियो। राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो। त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए।अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए। सचिवालयका एक सदस्यका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, ‘कोरोनाको संकटसँग जुधिरहेका बेला सरकारको नेतृत्व गरिरहेको व्यक्तिले राजीनामा दिन सक्दैन। राजीनामा दिनै पर्ने अवस्था आए कोरोनापछि दिउँला।’
प्रधानमन्त्रीको भनाइ थियो, ‘अहिले तपाईहरूले मागेजस्तो म न प्रधानमन्त्रीबाट राजीनामा दिन्छु, न अध्यक्षबाट नै। बरु अध्यक्ष दिएरै समस्या समाधान खोज्ने हो भने पार्टीमा तीन अध्यक्ष बनाऔं, माधवजीलाई तेस्रो अध्यक्ष बनाऔं।’
(थप समाचारका लागि अन्नपूर्ण पोष्ट हेर्नुहोला ।)
नागरिक दैनिकले नेकपा सचिवालय बैठकको समाचारलाई आ–आफ्नै अडान शिर्षकमा स्थान दिएको छ । समाचारमा टपेन्द्र कार्की लेख्छन्ः
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका छन्। सरकार कोराना संक्रमण फैलिन नदिन लागिपरेको र मुलुक लकडाउनमा रहेको कारण देखाउँदै ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका हुन्।
नेकपा सचिवालयको बुधबार साँझ बसेको बैठकमा नेताहरुले तत्काल स्थायी कमिटी बैठक डाक्नुपर्ने धारणा राखेका थिए। बैठकमा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहले आआफ्ना दाबी प्रस्तुत गरेका थिए। दुवै पक्षले अडान नछाडेको स्रोतको दाबी छ।
दाहाल पक्षले विधानतः पार्टी सञ्चालन हुन नसकेकोे र नेतृत्वकै कारण सरकार बदनाम भएकाले प्रधानमन्त्री ओलीले नै निकास दिनुपर्ने बताएको थियो। कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीकै कारण समस्या आएकाले उनले नै निकास दिनुपर्ने, स्थायी कमिटी बैठक तत्काल डाक्नुपर्ने र प्रधानमन्त्रीले सांसदलाई बालुवाटार बोलाएर शक्ति प्रदर्शन गर्ने काम रोक्नुपर्ने बताएका थिए। ‘प्रधानमन्त्रीकै कारण पार्टी बदनाम भइरहने, जिम्मेवारीचाहिँ पार्टीले लिनुपर्ने, अब व्यक्तिका कारण पार्टी बद्नाम हुनु हँुदैन, निकास चाहिन्छ’, वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो।
(थप समाचारका लागि विहिबारकाे नागरिक दैनिक हेर्नुहोला ।)