एजेन्सी– काेराेना भाइरसका कारण अहिले अत्यावश्यक सामानहरु पनि सहजै पाइएका छैनन्। यस्तो अवस्थामा सोखको लागि प्रयोग गरिने सामानहरु त झनै पाइँदैनन्। भारतको केरलमा ३५ वर्षका एक व्यक्तिलाई यस्तै भएपछि आत्महत्या गरेका छन्। बताइएअनुसार उनले मदिरा पिउन नपाएपछि आत्महत्या गरेका हुन्।
आज तकका अनुसार थ्रिसुरका सनोज नामका ती व्यक्ति मदिरा नपाएर तनावमा थिए। सामान्य दिनमा उनी दिनमा २ देखि ३ पटक बार जान्थे। तर, कोरोनाभाइरसका कारण देशमा लकडाउन छ। केरला सरकारले बुधबारदेखि मदिरा बिक्रीमा रोक लगाएको छ। यद्यपि यसअघि केरला रकारले मदिरालाई पनि अत्यावश्यक वस्तुको श्रेणीमा राख्ने भनेको थियो तर विपक्षको दबाबका कारण सरकार पछि हट्यो।
सरकारको यो फैसलाका कारण विगत २ दिनदेखि सनोज निकै तनावमा थिए। अन्ततः शुक्रबार उनको झुण्डिएको अवस्थामा लाश भेटियो। पुलिसले उनको मृत्युको केस दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ। सुरुवाती जाँचमा घटना आत्महत्याको देखिएको पुलिसले जनाएको छ।