काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चलेको घटनामा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई सुरक्षा गार्ड र दुई विद्यार्थी छन्। मृतकमध्ये गोली चलाउने आशंका गरिएका विद्यार्थी पनि रहेको बताइएको छ। मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार गोली चलाउने व्यक्ति हाईस्कुलको चौथो वर्षमा अध्ययनरत पुरुष विद्यार्थी हुन्। उनका बुबा जाम्बोआंगा सिटीको कस्टम्स कार्यालयमा कार्यरत रहेको बताइएको छ। विद्यार्थीले क्याम्पसमा पेस्तोल र राइफल कसरी पुर्याए भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ। घटनाप्रति फिलिपिन्सको शिक्षा विभागले गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित विद्यार्थी, उनीहरूका परिवार, विद्यालयका कर्मचारी तथा सम्बन्धित अधिकारीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ। प्रभावितहरूलाई मनोवैज्ञानिक प्राथमिक सहायता तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन मानसिक स्वास्थ्यसम्बन्धी साझेदार संस्थासँग समन्वय भइरहेको विभागले जनाएको छ।
घटनाबारे अपुष्ट सूचना फैलाउन तथा संवेदनशील तस्बिर, भिडियो वा विवरण सार्वजनिक नगर्न शिक्षा विभागले सर्वसाधारणलाई आग्रह गरेको छ। घटनामा नाबालिग विद्यार्थीसमेत संलग्न रहेकाले उनीहरूको गोपनीयताको सम्मान गर्न विभागले अपिल गरेको हो। विश्वविद्यालयले सामाजिक सञ्जालमार्फत ग्रेड स्कुलका विद्यार्थीहरू आफ्ना कक्षा शिक्षकसँग सुरक्षित रहेको जानकारी दिएको छ। साथै, सबै विद्यार्थीको अवस्था यकिन गरिएको विश्वविद्यालयले जनाएको छ। घटनापछि सिनियर हाईस्कुलका कक्षा स्थगित गरिएको छ भने जुनियर हाईस्कुलतर्फको अवस्था नियन्त्रणमा रहेको बताइएको छ। फिलिपिन्स राष्ट्रिय प्रहरी (पीएनपी) का प्रमुख जनरल जोसे मेलेंसियो नार्तातेज जुनियरले विद्यालय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएका छन्। प्रहरीले अहिले अवस्था नियन्त्रणमा आइसकेको जनाएको छ। अभिभावक तथा संरक्षकलाई शान्त रहन र विद्यालयले तोकेको समय तथा व्यवस्थाअनुसार आफ्ना बालबालिका लिन आग्रह गरिएको छ।गोली चलाउने विद्यार्थीले क्याम्पसमा हतियार कसरी प्रवेश गराए र घटनाको सम्पूर्ण पृष्ठभूमि के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।