काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक प्रतिस्पर्धाको खेलमैदान बन्न नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खलामा बोल्दै खनालले नेपालको परराष्ट्र नीति असंलग्नता र सन्तुलनमा आधारित हुनुपर्ने बताएका हुन्।
उनले नेपालले छिमेकी तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
खनालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्क अघि बढाउन, चिनियाँ लगानी भित्र्याउन तथा चीनसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्ने बताए।
चीनको विकास मोडल र सामाजिक स्थायित्वबाट नेपालले समेत सिक्न सक्ने उनको धारणा थियो।
खनालले जलवायु परिवर्तनको मुद्दालाई पनि नेपालको राष्ट्रिय हितसँग जोडेर उठाउनुपर्ने बताए। विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान नगण्य रहे पनि जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको भन्दै उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय तहमा प्रभावकारी आवाज उठाउनुपर्ने बताए।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्का बेला नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने भन्दै उनले नेपाल र चीनले हिमालय क्षेत्रको पारिस्थितिकीय प्रणाली संरक्षणका लागि सहकार्य गर्नुपर्ने बताए।
उनले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचना प्रणालीलाई बलियो बनाउने, संयुक्त आपत्कालीन अभ्यास सञ्चालन गर्ने तथा विपद् न्यूनीकरणका क्षेत्रमा साझेदारी बढाउने प्रस्ताव राखे।
कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत्, कृषि, पर्यटन र डिजिटल विकासलगायत क्षेत्रमा नेपालसँग व्यावहारिक सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको राजदूत चाङले बताए। विपद् वा अन्य बाह्य चुनौती आइपरे पनि चीन नेपालसँगै उभिने उनको भनाइ थियो।