काठमाडौं । जापानको फुकुओका सहरमा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्।
झापा घर भएकी लक्ष्मी राजवंशीको शव बुधबार फुकुओका सहरको चुओ वार्ड हुँदै बग्ने नाका नदीमा फेला परेको हो। प्रहरीका अनुसार लक्ष्मी नदीमा घोप्टो परेर तैरिरहेको अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएको थियो। १९ तारिख बिहान ६ बजेभन्दा केहीअघि एक बटुवाले नदीमा मानिस तैरिरहेको जस्तो देखिएको भन्दै आपतकालीन सेवामा खबर गरेका थिए। त्यसपछि उद्धार टोली तथा प्रहरी घटनास्थलमा पुगेका थिए। लक्ष्मीले टी–सर्ट र छोटो पाइन्ट लगाएकी थिइन् भने खुट्टामा जुत्ता थिएन। उनको साथमा कुनै व्यक्तिगत सामानसमेत फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको निधारमा चोटको निशान देखिएको थियो। उक्त चोट कुनै वस्तुले प्रहार गर्दा वा ठोक्किँदा लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनालाई सम्भावित अपराध तथा दुर्घटना दुवै कोणबाट अनुसन्धान गरिरहेको छ भने मृत्युको वास्तविक कारण पत्ता लगाउन समेत अनुसन्धान अघि बढाएको छ। यसैबीच, लक्ष्मीको हत्या भएको आशंकामा प्रहरीले पाँच जना नेपालीलाई पक्राउ गरेको बताइएको छ। घटनाको समयमा लक्ष्मीकी रुम पार्टनर काममा गएको जानकारी पनि बाहिर आएको छ। घटनासँग सम्बन्धित भनिएका केही तस्बिरमा रगतका दाग, धारिलो चक्कु र कुच्चिएको अवस्थामा प्रेसर कुकर देखिएको दाबी गरिएको छ। ती सामग्री घटनासँग सम्बन्धित हुन् वा होइनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।लक्ष्मीको मृत्युको वास्तविक कारण र घटनामा पक्राउ परेका पाँच जनाको संलग्नताबारे थप अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।