काठमाडौं - भाडावाला सरोकार समाजले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण ब्यापार व्यवसाय ठप्प भएकाले केही समयका लागि घरभाडा मिनाहा गर्नुपर्ने माग अघि सारेकाे छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजले काेराेनाकाे प्रभावलाइ मध्यनजर गर्दै घरधनीले क्षमता अनुसार तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको हाे ।
यतिबेला घर बहालमा बस्नेहरु ठूलो मर्कामा परेको समाजको निश्कर्ष छ। यस्ताे अवस्थाकाे सही मूल्याङ्कन गरेर केही समय घरबहाल मिनाहा गर्नुपर्ने तर्फ पहल गर्न समेत समाजले सरकारकाे ध्यानाकर्षण गराएकाे छ । काेराेना विरुद्ध सम्पूर्ण नागरिकले एकजुट भएर लड्नुपर्ने भन्दै समाजले मानवताका हिसाबले पनि यतिबेला एकले अर्कालाइ सहयाेग गर्नुपर्ने आवस्यकता औल्याएकाे हाे ।
देशको सम्पूर्ण कामकारबाही ठप्प भैसकेको भन्दै समाजले यस्तो अवस्थामा भाडामा बसोवास गर्नेहरु, भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेका व्यापारीहरुको व्यापार ठप्प भएका कारण घरभाडा केही छुट गर्न सरकार र घरधनीहरुलाई आग्रह गरेकाे छ।
कोरोनाका प्रभाव र नकारात्मक असर नेपालको अर्थतन्त्रमा समेत परेकाले सम्पूर्ण व्यापार, व्यवसाय र कार्यालयका कामहरु पनि ठप्प भइरहेको अवस्थामा व्यवसाय गर्ने सम्पूर्ण व्यापारीलाई ठूलो धक्का पुगेको समाजको भनाई छ। नेपालकै अर्थतन्त्रमा असर पर्ने विषयलाई केन्द्रीत गरी घारभाडा, विद्यालय शुल्क, कलेज तथा क्याम्पसका शुल्क तत्कालै छुट गराउनुपर्ने समाजको माग छ। समाजले अत्यावश्यक उपभोग्य वस्तुमा कालोबजारी नियन्त्रण गरी सम्पूर्ण नागरिकलाई विपद्का बेला सहज ढंगले उपलब्ध गराउन सरकारसंग आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा बाेल्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले भाडावाला सरोकार समाजले चालेको कदम साहसिक भएको भन्दै आफ्नो यसमा पूर्ण साथ र समर्थन रहेको बताए।