काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन् ।
बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–डब्लूएचओ सहकार्य तथा पछिल्लो समय देखिएका स्वास्थ्य चुनौतीका विषयमा छलफल भएको हो । भेटका क्रममा डा. बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले विपद्को कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको समेत प्रशंसा गरिन् । बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफूले दिएको उम्मेदवारीबारे पनि परराष्ट्रमन्त्री खनाललाई जानकारी गराएकी थिइन् । उनले आफ्नो उम्मेदवारी, आगामी प्राथमिकता र दृष्टिकोणबारे जानकारी दिँदै नेपालबाट समर्थनको अपेक्षा रहेको बताइन् ।
भेटमा मन्त्री खनालले कठिन समयमा साउदी अरेबियाबाट नेपालप्रति व्यक्त गरिएको ऐक्यबद्धताका लागि आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनसँगै स्वास्थ्य क्षेत्रमा देखापर्ने जोखिम र विभिन्न रोगको प्रभाव नेपालजस्ता जोखिममा रहेका विकासशील मुलुकमा बढ्दै गएको विषय उठाए । मन्त्री खनालले जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, यस्ता चुनौती सामना गर्न सक्षम र प्रभावकारी स्वास्थ्य प्रणाली निर्माण आवश्यक रहेको बताए । भेटवार्तामा नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरको पनि सहभागिता रहेको थियो ।