महोत्तरी– दशैँपर्व कसैगरी टारेका महोत्तरी जिल्लाका कुमाल (माटाका भाडा बनाउने जाति समुदाय विशेष) अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन्। लगातार परेका मुख्य चाडवाडको खर्च जुटाउन कुमालेको व्यस्तता अहिले बढेको छ। चाडपर्वको विधि र प्रयोगको अभ्यासले दशैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दशैँ सकेलगत्तै कुमाल माटाका भाडा बनाउन दिनरात नभनी जुटेका छन्।
दीपावली (तिहार) र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ। यसै बेलालाई आफ्नो कमाइको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन्। ‘दशैँमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दशैँ टारियो’, जिल्लाको भङ्गाहा नगरपालिका–५ भुचक्रपुर कुमाले टोलका सीताराम पण्डित कुमालले भने, ‘दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ।
दशैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सीतारामको थप भनाइ छ। अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिँदोछ।
दीपावली र छठपर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउन पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाडाको कारोवार बढ्ने गरेको छ। यसै परम्पराको अवसरमा दीपावली र छठअघि माटाका भाडाको बजार जम्ने गरेका कुमाल बताउँछन्।
दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले महोत्तरीका सबैजसो गाउँनगर बस्तीका हटियामा माटाका भाडाका छुट्टै बजार लाग्ने गरेको छ। साप्ताहिक हटिया (सातामा अमुकअमुक दिन लाग्ने बजार) बाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाडाको बजार लगाउन शुरु गरिसकेका बर्दिवास उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विजयकुमार महतोले बताउछन्।
मिथिला क्षेत्रमा माटाका नयाँ भाडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको हो। कुमाल जाति दशैँ सकेर दीपावली, छठअघिको समयलाई किसानको मुख्य फसल धान थन्क्याउने मङ्सिरसँग तुलना गर्ने गर्छन्। भाडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दशैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको जिल्लाकै लोहारपट्टी नगरपालिकाको पिपराढी बस्तीको कुमाल टोलका रामसागर पण्डित कुमालले बताउछन्।
माटाका भाडावर्तनको बिक्रीका लागि दीपावली र छठपर्वपूर्व उपयुक्त बेला हुने गरेको छ। विगतमा (केही दशकअघिसम्म) घरव्यवहार प्रयोजनमा बाक्लै माटाका भाडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेकाले चाडपर्वका लागि मात्र दीपावली र छठमा यसको माग हुने गरेको कुमालहरु बताउँछन्। मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाडाहरु दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लाष्टिकका भाडाको प्रयोग बढेकाले आफूहरुको व्यवसाय चाडपर्व विशेषमात्रै चल्ने गरेको उनीहरुको भनाइ छ।
अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ परेको जिल्लाकै मनराशिशवा नगरपालिकाको सहसराम बस्तीका रामशोभित पण्डितले बताउछन्। तिहार र छठपर्वका अवसरमा महोत्तरीमा मात्र पनि १० लाखभन्दा बढीको माटाका भाडाको कारोवार हुने महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ। यसपालि दशैँ सकिएलगत्तै जमेको माटाका भाडाको बजार छठसम्म रहने भएकाले र मूल्यवृद्धिसमेत भएकाले यो पर्व्भित्र रु १५ लाखभन्दा बढीको कारोवार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताउछन्।
जिल्लाको लोहारपट्टी, भङ्गाहा र मनराशिशवा नगरपालिकाका केही बस्तीमा छुट्टै कुमाल टोल भएर सघन बसोवास रहेको यो जाति छिटपुटरूपमा भने जिल्लाभरि नै छरिएर बसेका छन्। दीपावली र छठअघि यिनीहरु आफ्नो पुख्र्यौली पेशाको बिडो थाम्दै जिल्लाका सबैजसो गाउँ÷नगर बस्तीका घरघरैजसो आफ्ना भाडाको प्रचार, प्रवद्र्धन र बिक्रीमा जुट्ने गरेका छन्। (रासस)