काठमाडौँ नयाँ सरकार गठनको बहस तीव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू राजधानीमा आन्तरिक छलफलमा जुटेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हाल दरबारमार्गस्थित रोयल सिङ्गी होटलमा बसिरहेको स्रोतले जनाएको छ। उनी होटलको ‘पोताला सुइट’बाटै सरकार गठनसम्बन्धी रणनीतिक तयारीमा रहेको बताइएको छ।
यसैबीच, पार्टीका उपसभापति स्वर्णिम वाग्ले ले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै “राजकाज: आज साँझको छलफल” भन्ने क्याप्सन दिएका छन्। उक्त तस्बिरमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी देखिएका छन्।
निर्वाचन आयोग नेपाल ले आजै निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएपछि रास्वपाका नेताहरूबीच छलफल तीव्र भएको हो।
उक्त गतिविधिले रास्वपा नयाँ सरकार गठनको तयारीमा सक्रिय रूपमा अघि बढिरहेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।