काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ’प्रतिशोधपूर्ण र बदला–प्रेरित’ ठहर गर्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।
मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सरकारको कदमको घोर भत्र्सना गर्दै वैशाख १२ गते राजधानीमा विशाल प्रदर्शन गर्ने गरी विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो। ’जेन जी’ आन्दोलनका क्रममा भएको दमनको आरोपमा दुई नेतालाई शनिबार पक्राउ गरिएपछि एमालेले सडक संघर्षको बाटो रोजेको हो।
एमालेले आन्दोलनका मुख्य कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसमा चैत २५ सम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेलाहरू सम्पन्न गर्ने, चैत २८ गते देशका सबै पालिकाहरूमा विरोध प्रदर्शन आयोजना गर्ने, वैशाख ३ गते वडा तहसम्म कार्यकर्ता तथा शुभचिन्तकहरूको भेला गर्ने, वैशाख ७ गते सातै प्रदेशका राजधानीहरूमा वृहत् विरोध प्रदर्शन गर्ने, वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गरी शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गरेको महेश बस्नेतले जानकारी दिएका छन् ।
बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउन र राजनीतिक संवादका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, संसदभित्र अन्य दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्न उपाध्यक्ष राम बहादुर थापा ’बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी दिइएको छ। भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक समेत बोलाइएको जनाएको छ। विद्यार्थी तथा पेशागत संगठनहरूलाई समेत आ–आफ्नो ढंगले आन्दोलनमा उत्रिन निर्देशन दिइएको छ। यस सम्बन्धमा भोलि बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक बस्नेछ।
एमालेले यस गिरफ्तारीलाई लोकतन्त्र र कानुनी राज्यको उपहास भन्दै तत्काल रिहाइको माग गरेको छ। आन्दोलनका थप कार्यक्रमहरू तय गर्न पार्टीले छिट्टै केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरेको छ।