आज संसारले पत्रकार जुली के. ब्राउनलाई किन धन्यवाद दिनुपर्छ? यसको उत्तर खोज्न सन् २००५ को अमेरिकाको एउटा प्रहरी उजुरीसम्म पुग्नुपर्छ। फ्लोरिडाको पाम बीच प्रहरी चौकीमा एक १४ वर्षीया बालिकाको अभिभावकले दिएको उजुरीको केन्द्रमा थिए- ५२ वर्षीय जेफ्री एपस्टिन।
ती बालिकाले दिएको बयान प्रहरीलाई समेत स्तब्ध बनाउने खालको थियो। उजुरी अनुसार, उनलाई एउटा 'मसाज' को प्रलोभनमा एपस्टाइनको घरमा लगिएको थियो, जहाँ उनीमाथि बीभत्स यौन दुर्व्यवहार भएको थियो ।
त्यो समय अमेरिकी समाजमा जेफ्री एपस्टिनको ‘अल्ट्रा-रिच’ इमेज थियो। एपस्टिन यस्तो 'सोसलाइट' थिए जसले धन र सम्बन्धको प्रयोग गरेर समाजको सबैभन्दा माथिल्लो तहमा आफु बस्न रूचाउथे। उनको विलासिता चरममा थियो। म्यानहटनमा रहेको ५१ हजार वर्ग फिटको विशाल घर, क्यारिबियन सागरको 'लिटल सेन्ट जेम्स' टापु र 'लोलिता एक्सप्रेस' नामक निजी बोइङ ७२७ जेट उनको जिबनशैलीका हिस्सा थिए। विशेष गरी, उनले आफ्नो निजी टापुलाई एउटा यस्तो ' आइल्याण्ड' मा रूपान्तरण गरेका थिए, जहाँ पुग्नका लागि निजी बोइङ ‘लोलिता एक्सप्रेस' को प्रयोग गरिन्थ्यो।
जेफ्री एपस्टिनविरुद्ध उजुरी परेपछि प्रहरीले यो घटनाको छानबिन गर्न ‘अन्डरकभर अपरेसन’ सञ्चालन गर्यो। मार्च २००५ देखि अप्रिल २००६ सम्म पाम बीच प्रहरीले १३ महिनासम्म सञ्चालन गरेको यस अपरेसनलाई संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले ‘अपरेशन लिप इयर’ नाम दिएको थियो।
अनुसन्धानको क्रममा जेफ्री एपस्टिन एक 'सिरियल पेडोफाइल' भएको खुल्यो।
चिकित्सा विज्ञान र अन्तर्राष्ट्रिय कानुनको परिभाषामा पेडोफिलियालाई एक 'प्याराफिलिक डिसअर्डर' मानिन्छ, जहाँ व्यक्तिले १३ वर्ष वा सोभन्दा कम उमेरका अबोध बालबालिकाहरू प्रति लगातार, तीव्र र अनियन्त्रित यौन आकर्षण राख्दछ। अन्तर्राष्ट्रिय कानुनले यसलाई गम्भीर अपराध ठान्छ।
प्रहरीको 'फाइन्डिङ्स' मा एपस्टिनको 'ग्लोबल सेक्स ट्राफिकिङ र्याकेट' फ्लोरिडामा मात्र सीमित थिएन। उनको नेटवर्कमा विभिन्न देशहरूबाट युवतीहरू र बालिकाहरूको तस्करी समावेश थियो। उनले रसिया, युक्रेन र ब्राजिल जस्ता देशहरूलाई आफ्नो 'सोर्सिङ ग्राउन्ड' बनाएका थिए। समग्रमा एपस्टिन एउटा अन्तर्राष्ट्रिय तस्करी पाइपलाइनका 'आर्किटेक्ट' थिए। एपस्टिनले अमेरिकी अध्यागमन प्रणाली र कानुनका छिद्रहरूलाई यति गहिरोसँग प्रयोग गरेका थिए कि, उनलाई कसैले छुन सक्दैन भन्ने भ्रम पैदा भएको थियो।
प्रहरीले यो केसको कनेक्सन र प्रमाण संकलन गर्न अपनाएको तरिका पनि स्वयंमा एउटा थ्रिलर फिल्मको क्लाइमेक्सजस्तै थियो। एपस्टिनको घरको कडा निगरानीका बीच प्रहरीले 'ट्र्याश पुल' (फोहोरको थुप्रो) बाट संकलन गरेका कागजहरू लाई पनि प्रमाणको स्रोत बनाएको थियो। अधिकारीहरूले महिनौँ लगाएर ती 'फ्लोटिङ क्राइम सीन' का टुक्राहरूलाई एउटा पजल झैँ जोडेका थिए। यस अनुसन्धान प्रक्रियाले एपस्टिनको निजी विमान ‘लोलिता एक्सप्रेस’ का उडान तालिकाहरू सगैं त्यसमा सवार हुने 'भीआईपी' पाहुनाहरूको विवरण समेत पत्ता लगाइदियो।
पाम बीच प्रहरीको १३ महिना लामो ‘अपरेशन लिप इयर’ मार्फत ८२ पृष्ठको अभियोग पत्र तयार भयो। यो ८२ पृष्ठको दस्तावेज एपस्टिनको 'अपराधिक साम्राज्य' को 'ब्लुप्रिन्ट' थियो। कानुनी एक्सपर्टहरू भन्छन, यदि सन् २००७ मै ती ८२ पृष्ठका प्रमाणहरूले अदालतमा प्रवेश पाएका भए, एपस्टिनले न्यूनतम ४५ वर्ष वा आजीवन जेल जाने थिए। मे २००७ मा तयार पारिएको ८२ पृष्ठ लामो प्रोसिक्युसन मेमो र ५३ पृष्ठको ड्राफ्ट इन्डिक्टमेन्टमा एपस्टिन, उनका तीन कर्मचारीहरू र दुई कम्पनीहरू आरोपित थिए । ‘ड्राफ्ट इन्डिक्टमेन्ट’ भनेको कुनै पनि अभियुक्तलाई अदालतमा औपचारिक रूपमा दोषी प्रमाणित गर्नका लागि तयार पारिएको ‘प्रस्तावित अभियोग पत्र’ हो। यसमा अभियुक्तले कुन-कुन कानुन तोड्यो भन्ने कुरा बुँदागत रूपमा लेखिएको हुन्छ।
तर, यहाँबाट भने कथा ट्विस्ट हुन्छ। प्रहरीले तयार पारेको ५३ पृष्ठको प्रमाणसहितको ‘ड्राफ्ट इन्डिक्टमेन्ट’ लाई अदालतमा पेश हुनुअघि नै 'नन्-प्रोसिक्युसन एग्रीमेन्ट' मार्फत 'सिल' गरियो। नन्-प्रोसिक्युसन एग्रीमेन्ट सरकारी वकिल र अभियुक्तबीच हुने सम्झौता हो, जहाँ सरकारी पक्षले अभियुक्तलाई अदालतमा मुद्दा नचलाउने ग्यारेन्टी दिन्छ।
एपस्टिन प्रकरणमा भएको यो 'लीगल इन्टरभेन्सन' ले यो अनुसन्धानलाई निकै कमजोर बनायो।
यसको मूल कारण एपस्टिनको राजनीतिक ‘नेक्सस’ थियो। प्रहरीले १३ महिना लगाएर संकलन गरेका ६० वटा गम्भीर सङ्घीय आरोपहरू लाई अलेक्जेन्डर अकोस्टाको एक हस्ताक्षरले खारेज गरेको थियो।
सन् २००८ मा भएको जेफ्री एपस्टिनको कुख्यात यो ‘नन्-प्रोसिक्युसन एग्रीमेन्ट’लाई सामान्यतया ‘स्वीटहार्ट डिल’ भनेर चिनिन्छ।यो डिल अमेरिकी न्याय प्रणालीको इतिहासमा एक अत्यन्त विवादास्पद बन्यो, किनकि यसले दर्जनौं नाबालिग बालिकाहरूमाथि यौन शोषण र ट्राफिकिङको गम्भीर आरोपहरू लागेका एपस्टिनलाई विशेष सुविधा र हल्का सजाय दियो। यो सम्झौता पछि एपस्टिनलाई राज्य स्तरमा मात्र दुई हल्का आरोपहरूमा दोष स्वीकार गर्न लगाइयो। सन् २००८ जुन ३० मा अदालतले उनलाई १८ महिनाको सजाय सुनायो। तर उनि जम्मा १३ महिना जेल बसे।
यो सजायको सबैभन्दा ठूलो आलोचना पक्ष थियो - वर्क रिलिज सुविधा। एपस्टिनको धन र वकिलहरूको दबाबले यो सम्भव भयो। उनी दैनिक १२ देखी १६ घण्टा जेलबाहिर बिताउन पाउँथे। यो सजायको अधिकांश भाग वर्क रिलिज सुविधामा बिताएपछि उनलाई सन् २००९ जुलाई २२ मा पूर्ण रूपमा जेलबाट छुटकारा मिल्यो। जेलबाट छुटेपछि एपस्टिनको जीवनशैली पहिलाजस्तै विलासी र शक्तिशाली रह्यो-उनको धन, निजी सम्पत्ति र उच्च-स्तरीय कनेक्सनहरू सहितको ।
सन् २००८ को ‘स्वीटहार्ट डिल’ लामो समय समयसँगै दबिएको र बिर्सिएको जस्तो देखिन्थ्यो। तर अपराध आफैं मौन रहँदैन - यो एकदिन कुनै न कुनै रूपमा फुट्छ। करिब ११ वर्षपछि, यो गोप्य सम्झौता फेरि सतहमा आयो, र यसलाई बाहिर ल्याउने मुख्य काम चाही मियामी हेराल्ड अखबारकी पत्रकार जुली के. ब्राउनले गरिन।
जुली के. ब्राउन मियामी हेराल्डमा कार्यरत पत्रकार हुन्, जुन अमेरिकाको फ्लोरिडा राज्यको क्षेत्रीय अखबार हो। एक अनुभवी अनुसन्धानात्मक पत्रकार ब्राउन मुख्य रूपमा मियामी हेराल्ड अखबारमा अपराध, न्याय प्रणाली र महिलाहरूमाथि हुने हिंसाका विषयमा लेख्छिन्। रोचक तथ्य के हो भने, ब्राउनको यो मुद्दामा प्रवेश कुनै ठूलो सम्पादकीय गुरुयोजनाको हिस्सा थिएन ।संयोग नै मान्नुपर्छ, सन् २०१६ को अन्त्यतिर, जुली के. ब्राउन फ्लोरिडाको मियामी हेराल्ड अखबारमा यौन ट्राफिकिगं सँग सम्बन्धित खोज पत्रकारिताको तयारी गरिरहेकी थिइन्।
उनको मुख्य फोकस फ्लोरिडामा यौन तस्करीका केसहरू खोतल्ने थियो।
उनले प्रारम्भिक डेटा माइनिङ र अनलाइन खोजीका क्रममा एउटा नाम पटक-पटक भेटिन र त्यो नाम थियो-जेफ्री एपस्टिन।
यो समयमा फेमिनिस्ट मुभमेन्टमा मिटु आन्दोलन सुरु हुन लागेको थियो। सन् २०१७ को अक्टोबरमा हलिउड निर्माता हार्वे वाइन्स्टाइनको यौन हिंसाका आरोपहरू सतहमा आएका थिए। महिलाहरूको यौन हिंसाका कथाहरू सुन्ने र विश्वास गर्ने वातावरण बन्दै थियो। ब्राउनले यो संयोगलाई राम्रोसँग प्रयोग गरिन्। उनले भनेकी थिइन्, “म यौन तस्करीको कथा खोज्दै थिएँ, तर हरेक गुगल खोजीमा एपस्टिनको नाम आउँथ्यो। यो कुनै ‘कोड’ जस्तो लाग्यो। मलाई लाग्यो, यो कथा अझै अधुरो छ, पीडितहरूको आवाज सुन्न बाँकी छ।”
ब्राउनले एपस्टिन केसलाई खोतल्न थालिन। उनले आफ्नो अनुसन्धानलाई तीव्र बनाइन्। उनले पुराना फाइलहरू मात्र होइन, पीडितहरूसँग प्रत्यक्ष सम्पर्क गर्न थालिन्। धेरै पीडितहरूले पहिलोपटक आफ्नो नाम र कथा सार्वजनिक गर्न तयार भए—किनकि ब्राउनले उनीहरूलाई विश्वास दिलाइन् कि यो कथा अब दबाइनेछैन।
त्यतिबेला सार्वजनिक स्मृतिमा एपस्टिनको नाम लगभग हराइसकेको थियो। सन् २००८ को विवादास्पद सम्झौतापछि उनको मुद्दा समाचारका ‘ब्याक–पेज’ मा सीमित थियो, र धेरैका लागि त्यो अध्याय समाप्त भइसकेको मानिन्थ्यो। तर ब्राउनको 'इन्भेस्टिगेटिभ इन्स्टिंक्ट' ले यसलाई फेरी खोज्न थाल्यो ।
जुली के. ब्राउनले यो रिपोटमा अनुसन्धान गरिरहदा एउटा भयावह स्थिति फेला पारिन् । ब्राउनको अनुसन्धानले बारम्बार प्रश्न गर्यो: ६० वटा मुद्दा खारेज गराउन सक्ने त्यो 'अदृश्य हात' आखिर कसको थियो? दर्जनौँ अबोध बालिकाहरूको चित्कारलाई दबाएर एलेक्जेन्डर अकोस्टाले किन त्यो विवादास्पद ‘स्वीटहार्ट डिल’ मा हस्ताक्षर गरे?
बिस्तारै, अनुसन्धानले यो मुद्दालाई ‘सेक्स स्क्यान्डल’बाट बाहिर निकाल्दै उच्चस्तरीय राजनीतिक भ्रष्टाचारको एङ्गलतर्फ मोडिदियो।
यो केसलाई 'इन्स्टिच्युसनल प्रोटेक्सन' को एउटा नयाँ एगंलमा पुर्याइदिने कारण त्यतिखेरको अमेरिकी राजनीतिको एउटा नया विकासक्रम बन्यो। र त्यो कारण थियो - सन् २०१६ मा भएको चुनाव जितेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एलेक्स अकोस्टालाई अमेरिकी श्रम मन्त्रीका रूपमा मनोनयन गर्ने घोषणा।
अलेक्जेन्डर अकोस्टा तिनै व्यक्ति थिए, जसले सन् २००८ मा दक्षिण फ्लोरिडाका अमेरिकी अटोर्नीका रूपमा काम गर्दा जेफ्री एपस्टिनसँग विवादास्पद ‘नन–प्रोसिक्युसन एग्रिमेन्ट’ स्वीकृत गरेका थिए। अकोस्टाको मन्त्री पदमा मनोनयनसँगै अब उक्त ‘स्वीटहार्ट डिल’ पुनः सार्वजनिक बहसको केन्द्रमा आयो।
पत्रकार ब्राउनले ‘द गार्डियन’ लाई दिएको अन्तर्वार्तामा आफ्नो अनुसन्धानको मोडबारे एउटा गज्जबको कुरा भनेकी छिन्: ‘अकोस्टाको मन्त्री पदको मनोनयनले मलाई त्यो पुरानो मुद्दा पुनः खोतल्न र त्यसको गहिराइमा पुग्न बाध्य बनायो।’
अलेक्जेन्डर अकोस्टा रिपब्लिकन पार्टीका 'हेभीवेट' नेता थिए। ट्रम्प प्रशासनमा अमेरिकाका २७औँ श्रम मन्त्री नियुक्तिको समय ‘स्वीटहार्ट डिल’ १० वर्ष पुरानो भईसकेको थियो, र मुख्यधाराको मिडियाले यसलाई गम्भीर रूपमा उठाएका थिएनन। केही सञ्चारमाध्यमले भने यो बिषयमा प्रश्न पनि गरेका थिए, तर ती समाचारहरूले केही प्रभाब पारेन। बरू उल्टै, अलेक्जेन्डर अकोस्टाले आफ्नो नियुक्ति प्रक्रियाको क्रममा सिनेट सुनुवाइमा उक्त निर्णयको खुला बचाउ गरे। सिनेटमा भएको मत विभाजन ६०–३८ को पक्षमा रह्यो र अन्ततः अकोस्टाको श्रम मन्त्री नियुक्ति अनुमोदन भयो।
यहि राजनीतिक विकासक्रम पत्रकार जुली के. ब्राउनको लागि जेफ्री एपस्टिन प्रकरणमा गहिरो अनुसन्धान गर्ने एउटा कारण बन्यो । ब्राउनले सन् २०१७ देखि २०१८ को नोभेम्बरसम्म उनले आफ्नो सम्पूर्ण समय र ऊर्जा यो केस सम्बन्धी खोज पत्रकारितामा लगाइन्। उनी यो घटनाको सतही विवरणमा मात्र सीमित रहिनन्, बरु दस्तावेज, इमेल, कानुनी फाइल र स्रोतहरू लिन सफल भइन्।
ब्राउनको अनुसन्धानको कानुनी उपलब्धि भनेको ५३ पृष्ठ लामो ‘ड्राफ्ट इन्डिक्टमेन्ट’ को प्राप्ति थियो। कानुनी भाषामा, यो दस्तावेजले के प्रमाणित गर्थ्यो भने संघीय सरकारसँग एपस्टिन विरुद्ध 'प्राइम फेसिया' (प्रथम दृष्टिमै) मानव तस्करी, नाबालिगको यौन शोषण र संगठित अपराधका पर्याप्त प्रमाणहरू थिए। उनले फेला पारेको ८२ पृष्ठ लामो प्रोसिक्युसन मेमो बालिकाहरूको न्याय विचलित पारिएको एउटा जीवित प्रमाण थियो। अलेक्जेन्डर अकोस्टाको कार्यालयले यी ५३ पृष्ठका प्रमाणहरूलाई अदालतसम्म पुग्नै नदिई बीचैमा 'गायब' पारिदिएको थियो। प्रमाणहरूलाई दबाउनका लागि अकोस्टाको टोलीले त्यो गोप्य ‘नन-प्रोसेक्युसन एग्रीमेन्ट’ को सहारा लिएको थियो।
यो एग्रीमेन्ट यति घातक थियो कि यसले एपस्टिनलाई मात्र होइन, उनका को-कन्स्पिरेटर लाई समेत भविष्यमा हुन सक्ने सबै कानुनी सजायबाट पूर्ण 'इम्युनिटी' प्रदान गरेको थियो।
उनको पुस्तक ‘पभर्सन अफ जस्टिस’ अनुसार, यो अनुसन्धान गर्दा सीमित स्रोत र साधन भएको एउटा क्षेत्रीय अखबार, मियामी हेराल्डको डेस्कमा बसेर गरेकि थिइन। उनको अनुसन्धानको पद्धति यति व्यवस्थित थियो कि उनले ८० जना सम्भावित पीडितहरूको पहिचान मात्र गरिनन्, तीमध्ये ६० जनासँग भेटिन।पत्रकारिताको यो ‘मेथोडोलोजिकल रिगर’मार्फत उनले एक ‘इन्टेलेक्चुअल फरेन्सिक एक्सपर्ट’झैँ गहिरो विश्लेषण गरिन्।
एक खोजी पत्रकारका लागि सबैभन्दा ठूलो चुनौती उनले ती 'सर्भाइभर्स' हरूको विश्वास जित्नुपर्ने थियो, जो मौन थिए। ती ८० जना सर्भाइभरहरूका लागि सबैभन्दा ठूलो शत्रु एपस्टिन मात्र थिएनन्, बरु त्यो सरकारी संयन्त्र थियो जसले सन् २००८ मा उनीहरूलाई धोका दिएको थियो।ती युवतीहरूका कथाहरूलाई लगातार सुन्दा र उनीहरूको पीडालाई महसुस गर्दा ब्राउन स्वयं ‘सेकेन्डरी ट्रमा’ (दोस्रो तहको मानसिक आघात) मा पुगेकि थिन । २०२१ मा प्रकाशित जुली के. ब्राउनको पुस्तक ‘पर्भर्सन अफ जस्टिस: द जेफ्री एपस्टाइन स्टोरी’मा उनले लेखेकी छिन “म पनि तिनीहरू मध्ये एक हुन सक्थेँ।”
लामो समयको अनुसन्धान र प्रमाणहरूको संकलनपछि उनको खोजी ‘रिपोर्टिङ’ विश्वसामु छापियो। २०१८ को नोभेम्बर २८, २९ र ३० का ती तीन दिन मियामी हेराल्डका पानाहरूमा यो खोजी रिपोर्ट प्रकाशित भयो र अमेरिकी पत्रकारिताको इतिहासमा ऐतिहासिक ‘टर्निङ पोइन्ट’ भयो।जुली के. ब्राउनले सार्वजनिक गरेका ती दुई विशेष दस्ताबेजहरू—५३ पृष्ठको ‘ड्राफ्ट इन्डिक्टमेन्ट’ र ८२ पृष्ठको ‘प्रोसेक्युसन मेमो’—अमेरिकी न्याय प्रणालीभित्रको भ्रष्टाचारलाई चिर्ने 'सर्जिकल ब्लेड' बन्यो।
नोभेम्बर २०१८ का ती ७२ घण्टामा जब त्यो खोजी रिपोट मियामी हेराल्डमार्फत छापियो, तब 'पब्लिक आउटरेज' यति चर्कियो कि ह्वाइट हाउस र न्याय विभागले यसलाई थाम्न सकेनन्। सोसल मिडिया, टेलिभिजन र मुख्यधाराका अखबारहरूमा यो कथा तीव्र रूपमा फैलियो। #एपस्टिन र #पभर्सनअफजस्टिस जस्ता ह्यासट्यागहरू ट्रेन्डिङ बने, र एपस्टिन प्रकरण अमेरिकी सार्वजनिक बहसको केन्द्रमा पुग्यो।यही जनदबावकै कारण एफबीआई र न्याय विभागले एउटा स्वीकारोक्ति गर्न बाध्य हुनुपर्यो।
उनीहरूले सन् २००८ को त्यो 'नन-प्रोसेक्युसन एग्रीमेन्ट'लाई संस्थागत 'भूल' को रूपमा परिभाषित गरे। कानुनी रूपमा यो स्वीकारोक्तिले अलेक्जेन्डर अकोस्टाको कार्यकालमा भएका निर्णयहरूको 'वैधानिकता' समाप्त पारिदियो र नयाँ अभियोगको ढोका खोलिदियो।
यो काण्डले एउटा नजिर स्थापित गर्यो कि गोप्य सम्झौताहरू पीडितहरूको अधिकार उल्लंघन गर्दा अदालतले तिनलाई खारेज गर्न सक्छ।
ब्राउनको रिपोर्टिङले यो फाइलहरूलाई ‘सील्ड’ बाट ‘अनसील्ड’ बनाउने प्रक्रिया सुरु गर्यो। मियामी हेराल्ड अखबारमा यो समाचार सार्वजनिक भएपछि अमेरिकी सरकारले कारबाही प्रक्रिया सुरु गर्यो। जुलाई ६, २०१९ मा पेरिसबाट फर्किँदै गरेका जेफ्री एपस्टिन न्यू जर्सीको टेटरबोरो विमानस्थलमा अवतरण गर्ने क्रममा पक्राउ परे।
एपस्टिन गिरफ्तारीको दुई दिनपछि, जुलाई ८, २०१९ मा म्यानहटनस्थित संघीय अदालतमा प्रेस सम्मेलन आयोजना गरिएको थियो । अमेरिकी पब्लिक प्रोसिक्युसन जेफ्री बर्मनले एपस्टिनविरुद्ध यौन तस्करी र षड्यन्त्रसम्बन्धी नयाँ संघीय आरोपहरू सार्वजनिक गरे। दशकौँदेखि निष्क्रिय रहेको यो मुद्दा किन र कसरी पुनर्जीवित भयो भन्ने एक पत्रकारको प्रश्नमा जेफ्री बर्मनले स्पष्ट पारिदिए, “हामीलाई उत्कृष्ट अनुसन्धानात्मक पत्रकारिताले सहयोग गरेको हो।”
यो राज्यको सर्वोच्च प्रोसिक्युसन अथोरिटीले एक स्वतन्त्र पत्रकार जुली के. ब्राउनले संकलन गरेका प्रमाणहरूलाई आफ्नो 'प्रमाणिक आधार' को रूपमा स्वीकार गरेको अफिसियल घोषणा थियो। पर्भर्सन अफ जस्टिस रिपोर्ट बाट जुली के. ब्राउनलाई मियामीको एउटा क्षेत्रीय पत्रकारबाट विश्वकै प्रभावकारी ‘जस्टिस वारियर’का रूपमा स्थापित गरिदियो।
जुली के. ब्राउनको रिपोर्टिङले सिर्जना गरेको भाईब्रेसन अब मियामीका गल्लीहरूबाट निस्किएर वासिङ्टनका सत्ताका कोरिडोरसम्म पुगिसकेको थियो। सन् २००८ को जेफ्री एपस्टिनलाई ‘नन–प्रोसेक्युसन एग्रीमेन्ट’ का मुख्य सूत्रधार, श्रम मन्त्री अलेक्जेन्डर अकोस्टा नैतिक र राजनीतिक घेराबन्दीमा परिसकेका थिए। अन्ततः, जुलाई १२, २०१९ मा ह्वाइट हाउसको लनमा राष्ट्रपति ट्रम्पको छेउमा उभिएर उनले आफ्नो पदबाट राजीनामा दिनुपर्यो।
जुली के. ब्राउनको अनुसन्धान २०१८ नोभेम्बरमा प्रकाशित भयो र यो छापिएको केही महिना पछी २०१९ जुलाई ६ मा एपस्टिनको पुन: गिरफ्तारी भयो । र एक महिनापछि २०१९ अगस्ट १० मा एपस्टिन न्यूयोर्कको उच्च सुरक्षा सेलमा मृत भेटिए। न्यूयोर्क सिटीको चिफ मेडिकल एक्जामिनरले अगस्ट १६ मा यसलाई आत्महत्या घोषित गरे। धेरै विश्लेषकहरू र जनमानसले यसलाई साधारण आत्महत्या वा प्राकृतिक मृत्यु मान्न अस्वीकार गरे । स्वयम् जुली के. ब्राउन पनि यस मृत्युलाई ‘प्राकृतिक घटना’ वा ‘साधारण आत्महत्या’का रूपमा स्वीकार गर्न तयार छैनन्।
एपस्टिनमरे पनि, उसले छोएर गएको शक्ति, अपराध र संरचनागत मौनताको कथा भने अझै जीवित छ।
आज २०२६ को फेब्रुअरीमा उभिएर हेर्दा, ‘एपस्टिन फाइल्स ट्रान्सपेरेन्सी एक्ट’ बनिसकेको छ। नोभेम्बर १९, २०२५ मा राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो ऐन आधिकारिक रूपमा लागू भएको हो । यो कानुन कुनै एक दिनमा बनेको होइन। यो जुली के. ब्राउन र सयौँ सर्भाइभरहरूले अमेरिकी संसदमा दशकौँसम्म लडेको परिणाम हो।
यस ऐनले सन् २००८ मा गरिएको विवादित ‘नन–प्रोसेक्युसन एग्रीमेन्ट’सँग जोडिएका सबै गोप्य कागजातहरू सार्वजनिक गर्न बाटो खोलिदिसकेको छ। त्यस समयका आन्तरिक सरकारी मेमोहरू, प्रसिक्युटर र सरकारी अधिकारीहरूबीच भएका इमेलहरू, तथा एफबीआईले गरेको अनुसन्धानका फाइलहरू ‘पब्लिक डोमेन’मा ल्याइएका छन्।
जुली के. ब्राउनले सन् २०१८ मा सुरु गरेको खोजी पत्रकारिताको लडाइँ यस ऐनसँगै कानुनी रूपान्तरणमा पुगेको छ। उनले आफ्नो पुस्तक र रिपोर्टहरूमा उठाएका प्रश्नहरू सरकारका लागि अनिवार्य ‘कानुनी आदेश’ बनेको छ।
आजको मितिसम्म ३५ लाखभन्दा बढी पृष्ठका फाइलहरू सार्वजनिक भइसकेका छन्। जेफ्री एपस्टिनको ब्ल्याक बुक र जेट लगहरू सार्वजनिक भएपछि दर्जनौं उच्च-स्तरीय व्यक्तिहरूका नामहरू आएका छन्। यस सूचीमा अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनको नाम पनि आएको छ। क्लिन्टनले कम्तीमा १६ पटक एपस्टिनको जेटमा चढेको र जसमा अफ्रिका यात्रा गरेको डेटा पनि समावेश छ। फाइलहरूमा क्लिन्टनका एपस्टिन र एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेलबीच २००१–२००४ का इमेलहरू पनि समावेश छन्। अमेरिकी कंग्रेसले क्लिन्टन दम्पतीलाई एपस्टिनसँगको सम्बन्धबारे प्रश्न गर्न बोलाएको छ।
त्यही फाइलमा अर्को प्रमुख नाम बिल गेट्सको पनि आएको छ।
फोर्ब्सको अनुसार, एपस्टिनले २०१३ मा लेखेका ड्राफ्ट इमेलहरूमा गेट्सबारे अकल्पनीय आरोपहरू छन्। यी इमेलहरू गेट्सलाई पठाइएको हो वा होइन भन्ने निश्चित छैन।
यी फाइलहरूले अन्य उच्च-स्तरीय व्यक्तिहरूको सम्बन्ध पनि देखाएको छन्। यसमा आएका नामहरूमा इलन मस्क, डोनाल्ड ट्रम्प, प्रिन्स एन्ड्र्यू, रिचर्ड ब्रान्सन, स्टीभ ब्यानन, दलाई लामा पनि छन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च-स्तरीय नेताहरूमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडको नाम आएको छ ।
सन् २०२० मा 'टाइम' म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सुचीकृत भएकी पत्रकार ब्राउन अमेरिकी इतिहासको 'जुडिसियल करेक्सन' को एक जीवित साक्षी बनेकी छिन्। यी ३५ लाख पृष्ठका फाइलहरूले अब जे-जति नयाँ खुलासाहरू गर्नेछन्, त्यो समयले बताउछ । ती सबैको श्रेय भने जुलीको त्यही 'मेथोडोलोजिकल रिगर' बोकेको ‘पभर्सन अफ जस्टिस’ नामको खोजी पत्रकारिता लाई जान्छ, जसले सन् २०१८ मा ती १३५ पृष्ठहरूलाई 'एक्स्पोज' गरेको थियो।