काठमाडौँ – भदौ १० गतेदेखि शुरु हुने नाडा अटो शो २०१९ मा चीनको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन कम्पनी बिवाइडीले पहिलो सहभागिता जनाउने भएको छ। बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कले इलेक्ट्रिक कार बिक्री शुरु गरेको ४ वर्ष भइसकेको छ तर नाडा अटो शोमा भने कम्पनीको यो पहिलो सहभागिता हो।
नाडा अटो शोमा उल्लेख्य संख्यामा इलेक्ट्रिक कार आउने भएका छन्। विभिन्न कम्पनीले उत्पादन गरेका इलेक्ट्रिक कारका साथै विशुद्ध इलेक्ट्रिक कार उत्पादन कम्पनीको समेत सहभागिता हुने भएको छ। यस्तैमा चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी बिवाइडीले नयाँ कारसहित नाडा अटो शोमा सहभागिता जनाउँदैछ। कम्पनीले नाडा अटो शोमा ई–६ सहित नयाँ मोडल एम–३ सार्वजनिक गर्ने भएको छ।
बिवाइडीले नाडा अटो शो २०१९ मा सार्वजनिक गर्ने भएको मिनी मल्टी युटिलिटी भेहिकल (एमपिभी) एम–३ हो। उक्त मिनी एमपिभी एम–३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध हुनेछ। कम्पनीले यसको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने जनाएको छ।
बिवाइडी एम–३ ले एक पटकको फुल चार्जमा ३ सय ५० किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ। यो गाडीको अधिकतम गति करिब १३ सय ० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ। त्यस्तै बिवाइडीको हाल नेपाली बजारमा बिक्री भइरहेको ई–६ समेत नाडा अटो शोमा राखिने कम्पनीले जनाएको छ।