काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विकासको परिदृश्यमा विशाल परिवर्तन गर्ने परियोजना बीआरआईको प्रभाव अतुलनीय हुने विश्वास व्यक्त गरेका छन् । उनले बीआरआईबाट नेपालमा सम्पर्क सञ्जाल विस्तार, विकास रणनीतिमा योगदान, राष्ट्रिय प्राथमिकताका परियोजनामा भरथेग, लगानी प्रवर्द्धन र रोजगारीकाे अवसर सिर्जना गर्ने बताए। चाइना एकेडेमी अफ साइन्सेस् र साउथ एशिया इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिजले बुधबार राजधानीमा आयोजना गरेको ‘नेपालमा बीआरआई, सम्भावना र चुनौती’ विषयक कार्यशालामा त्यस्तो भनाइ राखेका हुन्।
परराष्ट्रमन्त्री ज्ञवालीले तीन तहको निर्वाचन पूरा गरी आर्थिक समृद्धिको बाटोमा अग्रसर भएको नेपाललाई उक्त परियोजनाबाट लाभ हुने भन्दै दिगो विकासका लक्ष्य हासिल गर्ने, अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्र नेपाललाई रूपान्तरण गर्ने, वर्तमान सरकारको लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे।
व्यापार, लगानी, उत्पादन वृद्धि, पर्यटन, रेल, सडक, हवाई, सम्पर्क सञ्जाल विस्तार, हिमालय सीमापार बहुपक्षीय सहायता आदान–प्रदानजस्ता विशाल परियोजनाले पनि नेपालको आर्थिक विकासलाई सघाउने उनको भनाइ थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणपछि बीआरआई परियोजनालाई द्रुत गतिमा कार्यान्वयन तहमा लैजान दुवै पक्षले तदारुकताका साथ काम गरिरहेको उनले जानकारी दिए।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बीआरआईलाई आशङ्काको दृष्टिले हेरेका देशमा समेत त्यसले ल्याउने समृद्धिमा केन्द्रित रहेर व्यापक बहस शुरू भएको बताउँदै नेपालको कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि, औद्योगिक विकासमा वित्तीय सहायताका साथ ज्ञान, सीप, प्रविधि र पूँजी परिचालनमा चीनले नेपाललाई सघाउन सक्ने धारणा व्यक्त गरे। उनले भने, ‘पारस्परिक व्यापार विस्तारबाट नै चीनसँगको विशाल व्यापारघाटा घटाउन सकिन्छ, धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउने तथा आपसी साझेदारी अभिवृद्धिका सम्भावना पहिल्याऔँ।’
चिनियाँ नागरिकलाई नेपाल आगमनमा निःशुल्क प्रवेशाज्ञा उपलब्ध गराउने नेपाल सरकारको निर्णय, एकचीन नीतिप्रति नेपालको दृढ अडान, चीनका प्रख्यात एवं विशाल कम्पनीद्वारा नेपालमा लगानी, नेपालको समृद्धिमा उसको साझेदारीले साझा विकास र समृद्धिको युगमा नेपाल–चीन सम्बन्ध प्रवेश गरेको पूर्वमन्त्री आनन्द पोखरेलले बताए।
उनले जलविद्युत्, रेलवे, सूचना तथा सञ्चार प्रविधिजस्ता भौतिक पूर्वाधार, कृषि, पर्यटन, औषधिजन्य जडीबुटी प्रशोधन र खानीका क्षेत्रमा नेपालमा लगानीका प्रशस्त सम्भावना रहेकाले बीआरआईका माध्यमबाट ती क्षेत्रमा नेपाल र चीनबीच साझेदारी हुनुपर्ने विचार व्यक्त गरे।
चीन विज्ञान प्रतिष्ठानका प्रा. लिउ वेइडङले बीआरआई सुख–समृद्धिको वाहक भएकाले त्यसमा आबद्ध सबैको उन्नति हुने बताउँदै बीआरआई सम्बन्धको सेतु भएको प्रस्ट्याउनुभयो । बीआरआई कार्यान्वयन भएपछि नेपालीको जीवनस्तर उठ्ने र नेपालको आर्थिक परिचय स्थापित हुने तर्क पनि उनले गरे।
कार्यक्रममा सहभागी सबैले बीआरआई विकासको प्रतिफल सबैमा पुर्याउने र सबैसँग सहकार्य र साझेदारी गर्ने परियोजना भएको दोहोर्याए । चीनले अघि सारेको अर्बौं अमेरिकी डलर लगानी हुने महत्वाकाक्षी परियोजना बीआरआई समृद्धिको वाहक भएको र त्यसमा जोडिने देश प्रगतिको पथतर्फ उन्मुुख हुने अभिमत कार्यक्रममा सहभागीहरूले राखे।
१ सय ३५ राष्ट्र र ३० वटा अन्तर्राष्ट्रिय संघसंस्थाले आबद्धताका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेर साझेदारीका निम्ति प्रतिबद्धता व्यक्त गरेको बीआरआई शान्ति र विकासको वाहक पनि भएको चिनियाँ अधिकारीहरूले बताए।