पोखरा - गण्डकी प्रदेशका छवटा जिल्लाका एनसेल टावरमा बुधबार राति आगजनी भएको छ। कास्की, पर्वत, बागलुङ, म्यादी, तनहुँ र गोर्खाका विभिन्न ठाउँमा रहेका एनसेल टावरमा आगजनी भएको प्रहरीले बताएको हो। आगजनीकाे विस्तृत विवरण आइनसकेकाे प्रहरीले बताएकाे छ।
कास्की प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका– २८, माझठानामा रहेको एनसेल टावरमा गतराति आगजनी भएको छ। आगजनीबाट टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी राजकुमार केसीले बताए। ‘हामी घटनास्थलमा पुग्दैछौँ,’ उनले भने, ‘आगजनी कसले गर्यो र कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।’
प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आगजनी गराएको हुन सक्ने आशंका गरेको छ। यस समूहले यसअघि पनि विभिन्न समयमा टेलिकमका टावरमा आगजनी र विस्फोट गराउँदै आएको छ।