विराटनगर - गरिब तथा विपन्न परिवारका लागि आएको मोरङको कटहरी गाउँपालिकाको करिब ३८ लाख रूपैयाँ बजेट फ्रिज भएको छ। गाउँपालिका र सम्बन्धित वडा कार्यालयले कार्यान्वयन गर्न नसक्दा जनता आवास कार्यक्रमअन्तर्गतको २० लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १८ लाख रूपैयाँ बजेट फ्रिज भएको हो।
आफूहरूको आवास र स्वरोजगारका लागि संघीय सरकारले बजेट पठाए पनि कटहरी गाउँपालिकाले कार्यान्वयन नगर्दा बजेट फ्रिज भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। आफूहरूका लागि आएको बजेट फ्रिज भएपछि आक्रोशित बनेका कटहरी गाउँपालिका–३ का जनताले सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीलाई र्याखर्याख्ती पारेका छन्।
सो विषयमा सोधीखोजी गर्न खोज्दा कोही सम्पर्कमा नआएपछि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई कार्यालयमै भेट्न पुगेका स्थानीयले कसैलाई नभेटेपछि प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई बजेट फ्रिज हुनुको कारणबारे र्याखर्याख्ती पारेका थिए।
प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्की
कटहरी गाउँपालिकाका लोकप्रिय युवा नेता मृत्युन्जय झाको अगुवाइमा पुगेका गरिब, भूमिहीन, असहाय एवम् एकल महिला तथा सुकुम्बासीहरूले बजेट फ्रिज भएको प्रति आक्रोश व्यक्त गरे।
कटहरी वडा नं. ३ की ६५ वर्षीया श्रद्धा पासवानले आफूहरू वर्षौंदेखि बेघर हुँदै आएको र आफूहरूको आवासका लागि सरकारले बजेट पठाए पनि गाउँपालिकाले फ्रिज गराएकाले त्यसको जिम्मवारी गाउँपालिकाले नै लिनुपर्ने भन्दै आक्रोश पोखिन्। उनले भनिन्, ‘कति वर्ष भैसक्यो हाम्रो घरको छत छैन। सरकारले घर बनाइदिन खोज्दा पनि गाउँपालिकाले किन बजेट फ्रिज गराको ? हामी गरिब तथा विपन्नको घर बनाइदिँदा गाउँपालिकाको के जान्थ्यो ? यसको जिम्मा स्थानीय तहले लिनुपर्छ कि पर्दैन ?’
त्यस्तै, सोही वडाकी ६२ वर्षीया एकल महिला महारानी राजवंशी पनि आक्रोशित नै छिन्। उनी भन्छिन्, ‘मेरो एउटा १४ वर्षको छोरा छ, त्यो पनि अपाङ्ग। हाह्रो कमाउने कोही पनि छैन। ओत लाग्ने ठाउँ पनि छैन। घर बनाइदिन बजेट आयो भनेर के गर्नु ? यहाँ गरिदिएनन्। अहिले सुनिदैछ हाम्रा लागि आएको बजेट फिर्ता गयो रे।’
गाउँपालिकाको कार्यालयमा डेलिगेसनमा पुगेका युवानेता झाले लक्षित वर्गका लागि घर र बेरोजगारलाई रोजगारी प्रदान गर्न आएको बजेट फ्रिज हुनु दुःखद भएको बताए। उनले भने, ‘त्यसको नैतिक जिम्मेवारी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले लिनुपर्छ।’ गरिब र विपन्न जनताका लागि आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्नेमा फ्रिज भएर फिर्ता जानुले सिंगो गाउँपालिकाका जनप्रतिनिधिको क्षमतामा प्रश्न उब्जिएको उनको भनाइ छ।
युवानेता झाले जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न ५ वटा परिवारको घर निर्माणका लागि २० लाख रुपैयाँ आए पनि त्यत्तिकै फिर्ता गएकाले सम्बन्धित वडा अध्यक्षले यसको नैतिक जिम्मेवारी लिई पीडितहरूको तत्काल आवास निर्माण गरिदिनुपर्नेमा जोड दिए।

उनले भने, ‘यी गरिब जनताको घर नबनी किन त्यो पैसा फिर्ता गयो। त्यसको हिसाब किताब जनतालाई दिनुपर्छ। गाउँपालिकाले निर्णय गरे पनि किन घर बनेन ? कसको कमजोरी हो ? फ्रिज भएबराबरको घर कुनै हालतमा बन्नुपर्छ, पन्छिन पाइँदैन।’
युवा नेता झाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको बजेटसमेत फ्रिज भएको प्रति आपत्ति जनाए। उनले भने, ‘यहाँ यत्रो बेरोजगारी समस्या छ। स्वरोजगारका लागि बजेट आएको थियो। तर किन फ्रिज भयो ? यो वर्ष जे भए पनि आइन्दा यस्तो गल्ती दोहोरिए जनताले क्षमा दिने छैनन्। यतातिर ध्यान जाओस्।’
गाउँपालिकामा ढिलो गरि पुगेका वडा नं. ३ का वडाध्यक्ष जद्दुलाल कामतले आफ्नै गल्तीका कारण बजेट फ्रिज भएको स्वीकार गर्दै चालू आर्थिक वर्षमा २ वटा घर तत्काल निर्माण गर्ने र बाँकी घर पनि स्रोत खोजी गरी वडाकै बजेटबाट निर्माण गर्ने प्रतिवद्धता जनाए।
स्थानीय जनताको प्रश्नको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत कार्कीले जनता आवास कार्यक्रममार्फत वडा नं. ३ मा ५ वटा घर निर्माण गर्ने कार्यपालिकाको निर्णय भएर वडामा पठाएको बताए। उनले भने, ‘कार्यपालिकाबाट निर्णय भएर वडामा पुगेको हो।’
यता गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले भने आर्थिक वर्ष समाप्त हुने बेलामा बजेट आएकाले कार्यान्वयज गर्न नसकिएको दाबी गरे। उनले भने, ‘बजेट अन्तिमतिर अयो। गाउँपालिकाले निर्णय पनि गरेको छ। तर, बजेट ढिलो आएका कारण कार्यान्वयन गर्न सकिएन।’