धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षका लागि विनियोजन गरेको ११ अर्ब ७१ करोड पूँजीगत बजेटमध्ये ७ अर्ब २२ करोड २० लाख मात्रै खर्च भएको छ। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश सरकारले पूँजीगत बजेट खर्च अनुमानको ८३ प्रतिशत र कुल बजेटको ६१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो।
कार्यालयका अनुसार सरकारको ४ अर्ब ५९ करोड ६ लाख पूँजीगत बजेट खर्च हुन सकेन। चालू खर्चको अवस्था पनि पूँजीगतजस्तै छ। चालू र पूँजीगत दुवै लगाएर पौने ९ अर्ब बजेट फ्रिज भएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षका लागि विनियोजन गरेको २२ अर्ब ८९ करोड ५ लाखमध्ये १४ अर्ब १९ करोड ६९ लाख ३ हजार खर्च भएको छ। जसमा चालूतर्फ ६२ प्रतिशत र पूँजीगततर्फ ६१ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश सरकारले २२ अर्बमध्ये १८ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको थियो। त्यसमा पनि झण्डै डेढ अर्ब कम बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक वासुदेव जोशीले बताए।
पूँजीगत बजेट खर्चको अवस्था मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा कम बजेट खर्च आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको छ। सो मन्त्रालयले छुट्याइएको ५ करोड ६६ लाख बजेटमा ४५ प्रतिशत अर्थात् २ करोड ५६ लाख मात्रै खर्च गर्न सकेको छ। त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २ करोड ५२ लाख बजेटमा १ करोड ६६ लाख अर्थात ४८ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
त्यसपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ६४, भौतिक पूर्वाधार विकास मन्त्रालयले ६९ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७४ प्रतिशत बजेट खर्च गरेका छन्।
प्रदेश सरकारअन्तर्गत सबैभन्दा बढी पूँजीगत बजेट सामाजिक विकास मन्त्रालयले २५ करोड १५ लाख ४८ हजारमा ९८ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। त्यसपछि बढी खर्च गर्नेमा प्रदेश व्यवस्थापिका सचिवालयलले ९६ प्रतिशत पूँजीगत बजेट खर्च गरेको छ।