धनगढी - धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । उपमहानगरपालिकाको चौथो नगरसभाले उपमहानगरकी उपमेयर सुशीला मिश्र भट्टले असार ८ गते चौथो नगरसभामा आव २०७६/७७ का लागि प्रस्तुत गरेको १ अर्ब ५८ करोड ४८ हजार बजेट आइतबार सर्वसम्मतले पारित गरेको हो ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले विगत दुई वर्षको समीक्षा गरेर आगामी वर्षमा काम गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचित भएर आएको दुई वर्ष बितिसकेको छ, अब असारे विकासको अन्त्य गर्नुपर्छ। दुई वर्षमा जग बसाल्न सके पनि आगामी दिनबाट समयमै काम सक्नुपर्छ।’ आगामी वर्षबाट वैशाख मसान्तमा पूँजीगत खर्च गरिसक्ने दाबी पनि उनको थियो। त्यसका लागि साउन महिनाबाटै तयारीमा लाग्न जनप्रतिनिधिसँगै कर्मचारीहरूलाई उनले निर्देशन दिए ।
प्रमुख वडले भने, ‘हामी आफैँले असारे विकास रोक्नुपर्छ भन्ने तर अन्त्यमा आएर आफैँले असारे विकास गर्ने काम रोक्नुपर्छ। हतारमा गरेको काम फलदायी हुँदैन। साउन महिनाभित्र सो वर्ष गर्ने कामको गुरुयोजना तयार पारेर भदौदेखि नै काममा लाग्नुपर्छ।’ अब कुनै हालतमा पनि असारे विकास रोक्नुपर्नेमा उनको जोड थियो। जनप्रतिनिधिहरूले पनि विगतभन्दा सुधार गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।