बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट पारित भइसकेको बजेटका विरुद्धमा सत्तारुढ दलकै सांसदहरूले बोल्नु शोभनीय नभएको बताएका छन्। उनले सोमबारको प्रदेशसभा बैठकमा संवेदनशील विषयमा बोल्दा विचार पुर्याउनुपर्ने बताउँदै आफैँले पारित गरेको बजेटका विरुद्धमा सत्तारुढ दलकै सांसद लाग्नु अशोभनीय भएको बताएका हुन्।
आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश ‘सरकारले असारको १५ दिनको अवधिमा विभिन्न गोष्ठी र सेमिनारमा मात्रै १ अर्ब ५५ करोड खर्च गरेको दाबी गर्दै गोष्ठी र सेमिनारको नाममा त्यति ठूलो धनराशि खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए। मुख्यमन्त्री पोखरेलले
आजको प्रदेशसभाको बैठकमा सोही अभिव्यक्तितर्फ इंगित गर्दै चालू आर्थिक वर्षको बजेटमा वर्षैभरिका लागि नभएको बजेट सेमिनार र गोष्ठीमा १५ दिनमा खर्च भयो भन्नुमा कुनै तर्क नरहेको प्रष्ट पारे।
मुख्यमन्त्री पोखरेलले भने, ‘आफैँले पारित गरेको बजेटका विरुद्धमा सत्तारुढ दलका सांसदहरूले नै बोल्दा तथ्यमा फरक परे जनताको विश्वास घट्छ, नैतिकतामा प्रश्न उठ्छ, त्यसैले तथ्यलाई ध्यान दिनुस्।’
उनले संसदको गरिमा र महत्वलाई कमजोर हुन नदिन सांसदहरू अध्ययनशील हुनुपर्ने बताए। प्रदेशसभाको बैठकमा अध्ययन गरी यथार्थ विषय मात्र उठाउन उनको सुझाव थियो। प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार आयोजना गरेको संसदीय अभ्यास र व्यवस्थापन कार्यविधिसम्बन्धी अतरक्रियामा बोल्दै मुख्यमन्त्री पोखरेलले संसदमा यथार्थ विषय नउठाउँदा सांसदहरूकै नैतिकतामा प्रश्न उठ्नेतर्फ सचेत गराए।