काठमाडौँ– विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना बढेको छ।
२३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले खराब सुरुवात गरेको थियो । उसका दुई विकेट छिट्टै गुमे । यद्यपि बाबर आजमले वर्ल्ड कपमा आफ्नो पहिलो शतक प्रहार गरेर टिमलाई जित दिलाए।
१२७ बलको सामना गरेका बाबरले ११ चौका प्रहार गरे । बाबर वर्लड कपमा शतक प्रहार गर्ने पाकिस्तानका दोस्रो युवा खेलाडी हुन् । उनी म्यान अफ द म्याच चुनिए । त्यस्तै, पाकिस्तानको जितमा हरिस सोहइलले ६८ र मोहम्मद हफिजले ३२ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । तर न्युजिल्यान्डका लागि जेम्स निशाम र कोलिन डि ग्रान्डहोमले उत्कृष्ट प्रदर्शन गर्दै उकासेका थिए।
निशाम ९७ रनमा अविजित रहे भने ग्रान्डहोमले ६४ रनको योगदान दिए । यी दुई जना खेलाडीले १३२ रनको साझेदारी गर्दै न्युजिल्यान्डको पारी उकासेका थिए।
पाँच रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले ८३ रन हुँदा पाँच विकेट गुमाइसकेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलिम्यसनले ४१ रन बनाएका थिए । बलिङतर्फ शाहिन शाह अफ्रिदीले तीन विकेट लिए।