काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणअन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले हराएको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १९ ओभरमा १४९ रनमै समेटियो।विराटनगरलाई लक्ष्यसम्म पुग्न नदिन चितवनका बलर कमलसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले पनि एक–एक विकेट हात पारे। खेलको निर्णायक मोडमा कमलले १८औँ ओभरमा लगातार दुई विकेट लिँदै विराटनगरलाई दबाबमा पारे।
विराटनगरलाई अन्तिम तीन ओभरमा २१ रन आवश्यक थियो। तर, कमलको लगातार दुई विकेटपछि टोलीको ब्याटिङ कमजोर बन्यो। रुपेश सिंह र प्रतिश जिसी खाता नखोली आउट भए। १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जित्ने सम्भावना झन् कठिन बन्यो।विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा चार छक्का र एक चौकासहित ३३ रन बनाए। उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४, बसिर अहमदले १३ र चरिथ असलंकाले आठ रन बनाए। ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाउँदा लोकेश बमले १४ बलमा २६ रनको योगदान दिए। उनीहरूबीच पहिलो विकेटका लागि ४० रनको साझेदारी भएको थियो। शुभम रञ्जानेले १० रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका ओपनर डाविड मलानले ५१ बलमा ७० रन बनाउँदै टोलीको इनिङ्स सम्हाले। उनले देव खनालसँग पहिलो विकेटका लागि ५८ रन जोडे। देवले १५ बलमा १२ रन बनाए भने अर्जुन साउद नौ बलमा तीन रन बनाएर आउट भए।मलान १३औँ ओभरमा आन्द्रे रसेलको बलमा आउट भएपछि रवि बोपारा र डान मोस्लीले चितवनको ब्याटिङलाई अघि बढाए। दुवैले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। बोपाराले ३२ र मोस्लीले २९ रन बनाएपछि चितवनले विराटनगरसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।एनपीएलअन्तर्गत आजको अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।