काठमाडौं ।अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिन लागेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
कम्पनीले कृत्रिम बौद्धिकता एआई सम्बन्धी प्रविधि र पूर्वाधारमा ठूलो रकम लगानी गरिरहेको समयमा कर्मचारी खर्च व्यवस्थापनका लागि यस्तो योजना ल्याउन लागेको हो।सीएनबीसी र ब्लुमबर्गका रिपोर्टअनुसार अमेरिका, क्यानडा, भारत र बेलायतमा कार्यरत उपाध्यक्ष तहभन्दा तल्लो पदका कर्मचारी यस योजनामा सहभागी हुन योग्य हुनेछन्। तर डेटा सेन्टर, बिक्री, बजार व्यवस्थापन, साइबर सुरक्षा तथा क्वान्टम कम्प्युटिङजस्ता क्षेत्रमा काम गर्ने कर्मचारीलाई योजनाबाट बाहिर राखिने समाचारमा उल्लेख छ।
माइक्रोसफ्टमा करिब दुई लाख २३ हजार कर्मचारी कार्यरत छन्। प्रस्तावित योजनामा ६० हजार कर्मचारी समेटिएमा यो कम्पनीको कुल जनशक्तिको करिब २७ प्रतिशत हुनेछ। यद्यपि, योजनामा समावेश हुने सबै कर्मचारीले अवकाश लिन्छन् भन्ने निश्चित छैन।कम्पनीले ओपनएआई र एन्थ्रोपिकजस्ता एआई विकासकर्ता कम्पनीलाई क्लाउड सेवा उपलब्ध गराउन तथा एआई कम्प्युटिङको बढ्दो माग पूरा गर्न डेटा सेन्टर विस्तारमा ठूलो लगानी गरिरहेको छ। यसले कम्पनीको पुँजीगत खर्चसमेत बढाएको छ।
सीएनबीसीका अनुसार माइक्रोसफ्टले सन् २०२६ को सेप्टेम्बरमा समाप्त हुने त्रैमासिक अवधिका लागि पुँजीगत खर्च ५० अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरेको थियो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३४ अर्ब ९० करोड डलर थियो।समाचार रिपोर्टअनुसार कर्मचारीले डिसेम्बरको सुरुतिरसम्म स्वेच्छिक अवकाशको प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय गर्नुपर्नेछ। प्रस्ताव स्वीकार गर्ने कर्मचारीले डिसेम्बर ३१ मा कम्पनी छाड्ने व्यवस्था रहेको जनाइएको छ।
माइक्रोसफ्टले यसअघि पनि कर्मचारी संख्या व्यवस्थापनका लागि विभिन्न कदम चालेको थियो। गत अप्रिलमा अमेरिकाका केही कर्मचारीका लागि स्वेच्छिक अवकाश कार्यक्रम ल्याएको कम्पनीले जुलाईमा पनि कर्मचारी कटौतीको योजना अघि सारेको समाचारमा उल्लेख छ।एआई प्रविधिमा बढ्दो लगानीसँगै कर्मचारी संरचना र खर्च व्यवस्थापनमा माइक्रोसफ्टले अपनाउन लागेको यो रणनीतिलाई प्रविधि उद्योगमा भइरहेको परिवर्तनको एउटा उदाहरणका रूपमा हेरिएको छ।