काठमाडौं ।फुटबल स्टार किलियन एमबाप्पेले चीनका संस्थापक नेता माओत्सेतुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन्।
उनको अभिव्यक्तिपछि चीनका तीन कम्पनीले उनीसँगको व्यावसायिक सहकार्य अन्त्य गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएका छन्। चिनियाँ फुटबल सङ्घ र सरकारी सञ्चारमाध्यमले समेत उनको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।फ्रान्सेली अनलाइन कार्यक्रम ‘द ब्रिज’ मा प्रसारित भिडियोमा आफ्नो मनपर्ने मीमबारे कुरा गर्ने क्रममा एमबाप्पेले माओलाई ‘तानाशाह’ भनेर उल्लेख गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर चीनमा आलोचना भएपछि उनले मङ्गलबार सार्वजनिक वक्तव्यमार्फत आफ्नो भनाइप्रति खेद व्यक्त गरेका हुन्।
एमबाप्पेले आफ्नो टिप्पणी अनुचित रहेको स्वीकार गर्दै त्यसबाट चीन र विश्वका विभिन्न स्थानमा रहेका चिनियाँ समुदायका मानिसको भावनामा चोट पुगेको बताएका छन्। उनले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति सम्मान रहेको उल्लेख गर्दै माफी मागेका छन्।यस विवादको असर उनको व्यावसायिक सम्बन्धमा समेत परेको छ। पेय पदार्थ उत्पादक डोङपेङ, दुग्धजन्य उत्पादन कम्पनी मेङनियू र चीज उत्पादक मिल्कग्राउन्डले एमबाप्पेसँगको व्यावसायिक सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको विवरण सार्वजनिक भएका छन्।
चिनियाँ फुटबल सङ्घले स्पेनिस क्लब रियल म्याड्रिड र एमबाप्पेसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। सरकारी सञ्चारमाध्यम चाइना मिडिया ग्रुपले उनी सहभागी खेलको प्रसारण तथा विज्ञापनसम्बन्धी सामग्रीमा समेत परिवर्तन गरेको जनाइएको छ।स्पेनको ला लिगाले चिनियाँ समर्थकप्रति खेद व्यक्त गर्दै एमबाप्पेको टिप्पणी व्यक्तिगत धारणा भएको स्पष्ट पारेको छ। ला लिगाका अध्यक्ष जेभियर तेबासले चीनसँगको व्यावसायिक सम्बन्ध कायम राख्ने विषयमा चिनियाँ राजदूतसँग छलफल गर्ने बताएका छन्।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चिनियाँ जनताको भावनामा चोट पुर्याउने व्यवहारले व्यापक विरोध सामना गर्न सक्ने टिप्पणी गरेका छन्। त्यस्तै, चिनियाँ सामाजिक सञ्जालमा एमबाप्पेसँगको साझेदारी अन्त्य गर्नुपर्ने मागसमेत उठेको विवरण सार्वजनिक भएका छन्।यसअघि सन् २०१९ मा अमेरिकी बास्केटबल लिग एनबीएसँग सम्बन्धित विवादमा ह्युस्टन रकेटका तत्कालीन महाप्रबन्धक डेरिल मोरेले हङकङका प्रदर्शनकारीलाई समर्थन गरेपछि चीनमा एनबीएका खेल प्रसारण रोकिएको थियो। पछिल्लो घटनाले चर्चित खेलाडीका सार्वजनिक अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजार, प्रायोजन र व्यावसायिक साझेदारीमा पार्न सक्ने प्रभावबारे पुनः बहस सिर्जना गरेको छ।