काठमाडौं ।नेपाल फुटबलमा नयाँ लिग सञ्चालनको तयारीसँगै विवाद देखिएको छ।
नेपाल फुटबल लिग एनएफएल को पहिलो संस्करण आगामी फागुन १ गतेदेखि आयोजना गर्ने तयारी भइरहेका बेला नेपाल सुपर लिग एनएसएल ले उक्त प्रतियोगिताका लागि आफूले कुनै अनुमति नदिएको स्पष्ट पारेको छ।एनएफएलमा एनएसएलका सात फ्रेञ्चाइज टोली सहभागी हुने समाचार सार्वजनिक भएपछि एनएसएलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।एनएसएलका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जारी गरेको विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त राष्ट्रव्यापी तथा सहरमा आधारित फुटबल लिग सञ्चालन गर्ने अधिकार आफूहरूसँग रहेको दाबी गरिएको छ। अन्य कुनै लिग आयोजना गर्न एनएसएलले स्वीकृति वा अनुमति दिएको भन्ने समाचार सही नभएको विज्ञप्तिमा उल्लेख छ।
एनएसएलले नेपाली फुटबलको विकासका लागि आफ्नो दीर्घकालीन योजना, अधिकार र जिम्मेवारीप्रति प्रतिबद्ध रहेको जनाएको छ। एनएफएलको विषयमा आगामी कदमबारे छलफल भइरहेको र त्यससम्बन्धी थप जानकारी पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।नेपाली फुटबलको भविष्य खेलाडी र समर्थकको हितलाई प्राथमिकतामा राखेर सहकार्य, आपसी सम्मान र साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने एनएसएलको धारणा छ।अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा परेपछि नेपालको घरेलु फुटबल प्रतियोगिता सञ्चालनबारे अन्योल बढेको छ। सरकारी हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेपछि घरेलु लिग तथा यसअघि सञ्चालन हुँदै आएको एनएसएलसमेत प्रभावित भएका छन्।
एनएफएलको पहिलो संस्करण फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारी छ। उक्त प्रतियोगितामा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी सहभागी हुने तयारीमा छन्। एनएसएलमा प्रतिस्पर्धा गर्दै आएका यी सात टोली एनएफएलमा पनि सहभागी हुने भएपछि दुई लिगबीचको सम्बन्धलाई लिएर प्रश्न उठेको हो।