काठमाडौँ – नेपाल विज्ञापन संघ (आन) ले गर्न लागेको ११औँ ‘नेपाल आइस कृति अवार्ड’ को आवेदन आजदेखि खुला गरिएकोे छ। नेपाल विज्ञापन संघको आयोजनामा हुन लागेको अवार्डमा आज ३ गतेदेखि असार ३० गतेसम्म आवेदन दिन सकिने आनका अध्यक्ष रविन्द्र कुमार रिजाल (शशी)ले जानकारी दिए।
त्यसपछि जुरीले आवेदनमाथि छानविन गर्ने र सर्टलिष्ट गरेर भदौ १३ गते सोल्टी होटलमा अवार्ड वितरण गरिने भएको छ। आनले उक्त अवार्ड २०६० देखि शुरु गरेको हाे। यसका लागि २०७५ को वैशाख १ देखि चैत्र ३० सम्म बनेका विज्ञापनहरुले तीन समूहमा अवार्डका लागि आवेदन दिन पाउनेछन्। अवार्डका लागि अनलाइनमार्फत आवदेन दिन सकिने आनका अध्यक्ष रिजालले जानकारी दिए। आवेदनसँगै हार्ड कपी र शुल्क तिर्न विज्ञापन संघकै कार्यालयमा उपस्थित हुनुपर्ने छ।
यस्तै आनले आफ्नो वेवसाईट पनि लञ्च गरेको छ। आफ्ना गतिविधिहरु वेवसाइटमार्फत सार्वजनिक गर्न र अवार्डका फारम संकलनका लागि वेवसाईट सञ्चालनमा ल्याइएको आनले जनाएको छ।