ब्राजिल – ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ। उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए। इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए। उरुग्वेका तर्फबाट तीनै गोल खेलको पूर्वाद्र्धमा भएको थियो। यो जितसँगै इक्वेडरले तीन अंक प्राप्त गरेको छ। यो समूहका जापान र चिलीबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहानीपख हुनेछ।

अर्कोतर्फ सोमबार नै भएको समूह ख को पाराग्वे र कतारबीचको खेल २–२ गोल भई बराबरीमा टुङ्गिएको छ। यस खेलमा पाराग्वेका तर्फबाट ओस्कार कार्डोजो र डरलिस गोन्जालोजले गोल गरेका थिए भने कतारका तर्फबाट आल्मोज अलिले गोल गरेका थिए। पाराग्वेका रोड्रिगो रोजासले ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए।
कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिनासहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन्। समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन्।
कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ। (रासस/एएफपी)