काठमाडौँ – नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अनलाईन भुक्तानीका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा नाट्टाका तर्फबाट अध्यक्ष सीएन पाण्डे र एनसीएनएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार नाट्टाका सदस्य ट्राभल एजेन्ट्स र ग्राहकहरुले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी गर्न सक्नेछन्। ट्राभल एजेन्ट्सले कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीको वेवसाइट इन्ट्रिग्रेट गरी सोझै अनलाईनबाट भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिइएको छ।
यो वेवसाइट र मोबाइल एप प्रयोग गरेर ४९ बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्नसक्ने जनाइएको छ। नाट्टाको वार्षिक सदस्यता शुल्कको भुक्तानी पनि अनलाइनबाट गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सम्झौताले पर्यटन क्षेत्रमा लागेका मुलुकभरका ट्राभल तथा टूर एजेन्ट्सको भुक्तानी तथा नगद प्रवाहमा मद्दत पुग्नेछ।