वीरगञ्ज - नेपाली कांग्रेस पर्साले वीरगञ्जका मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको छ। उक्त पार्टीले वीरगञ्जमा विरोध जुुलुस निकाली कर वृद्धि नगर्न ज्ञापनपत्र बुझाएको हो। कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको नेतृत्वमा वीरगञ्जको घण्टाघरबाट निकालिएको जुलुस आदर्शनगरस्थित वीरगञ्ज महानगरको कार्यालयमा पुगी मेयरलाई ज्ञापपत्र बुझाएको हो।
महानगरले विगतझैँ अगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा महानगरले व्यापक कर वृद्धि गर्न गइरहेको भन्दै कर वृद्धि रोक्न महानगरका मेयर सरावगीलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको कांग्रेस पर्साले जनाएको छ। कर्मचारीको बोर्डले नै नगरवासीहरूको हित र कर तिर्ने क्षमताभन्दा बढी करका दरहरू र मूल्यांकन निर्धारण गरी कर असुली गर्दै आइरहेकोमा निर्वाचनपश्चात् जनप्रतिनिधिको बोर्ड गठन भई नगरवासीले थेग्नै नसक्नेगरी कर वृद्धि गरिएको कांग्रेसको दाबी छ।
करका दर र मूल्यांकन नागरिकको क्षमता र आयसँग सम्बन्धित भएकाले दर निर्धारण गर्दा त्यसमा ध्यान दिन जरुरी रहेको ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्यले कर जनताको आयको हिसाबले लिनुपर्नेमा ढाड सेक्ने हिसाबले आएकाले विरोध गर्न बाध्य भएको बताए।
ज्ञापनपत्र बुझाउनेमा महानगरका बोर्ड सदस्यहरू पनि रहेका थिए। उनीहरूले बोर्डमा पटकपटक कुरा उठाउँदा पनि सुनुवाइ नभएकाले प्रदर्शनमा उत्रेको बोर्ड सदस्य जगत साह कानुले बताए। ‘उपमेयर शान्ति कार्कीको नेतृत्वमा बोर्डमै कर वृद्धिको विरोध गरेका थियौँ तर सुनुवाइ नभएपछि बोर्ड बैठक बहिष्कार पनि गर्यौँ,’ उनले भने, ‘त्यसैले सडकमा आएका हौँ।’
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सरावगीले करको दर निर्धारण गर्न उपप्रमुख शान्ति कार्कीकै संयोजकत्व राजस्व परामर्श समिति बनेको बताए। नगरको विकासका लागि आन्तरिक रूपमा मजबुत त हुनुपर्छ, त्यसका लागि करको दरभन्दा दायरा बढाउन हामी लागिपरेका छौँ, जग्गाको मूल्यांकन मालपोतको भन्दा ३० प्रतिशत कम गरेका छौँ।’ उनले भने, ‘कर वृद्धि हुन लागेको अफवाह फैलाइएको हो। वास्तवमा त्यस्तो केही भएको छैन।’
चालू आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर खारेज भइसकेकाले अपवाह नमच्चाउन उनले आग्रह गरे। जुलुसमा ‘जनविरोधी कर खारेज गर, जनता मार्न पाइँदैन, कर वृद्धि गर्न पाइँदैन’ लगायतका नारा लेखिएका प्ले कार्ड सहभागीहरूले बोकेका थिए।