काठमाडौँ - नागरिक लगानी कोषका अध्यक्षको कार्यकक्षमा कर्मचारीहरूले तालाबन्दी गरेका छन् । कोषले ल्याएको कर्मचारीसम्बन्धी निर्देशिकाप्रति असन्तुष्ट कर्मचारीहरूले प्रस्तावित निर्देशिकाले आफूहरूको मौलिक हकसमेत कुण्ठित हुने भन्दै अध्यक्षको कार्यकक्षमा तालबन्दी गरेका हुन् । उनीहरूले उक्त प्रस्तावित निर्देशिका सच्याउनसमेत माग गरेका छन् ।
कोषले ल्याएको निर्देशिकामा कर्मचारीहरूलाई कोष संस्थागत ग्राहकहरूसँग व्यक्तिगत सम्बन्ध नपाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले गर्दा नागरिक लगानी कोषमा सञ्चय गर्ने बैंक तथा वित्तीय संस्थासँग ऋण कारोबार गर्नेदेखि दोस्रो बजारमा शेयर खरिदविक्री गर्नसमेत नपाउने अवस्था रहने भन्दै कर्मचारीले विरोध जनाएका हुन् ।
नागरिक लगानी कोषले ल्याएको निर्देशिका हाल अर्थमन्त्रालयमा पेश भइसकेको छ । कोषका उच्च अधिकारीहरू भने उक्त प्रस्तावित निर्देशिकामा कर्मचारीहरूको मौलिक हक कुण्ठित हुने कुनै पनि व्यवस्था उल्लेख नरहेको बताउँछन् ।
कोषका एक अधिकारीले भने, ‘एउटा निर्देशिकाले संविधानले दिएको मौलिक हकप्रतिकूल काम गर्न सक्दैन । कोषसँग संस्थागत रूपमा सम्बन्ध बनाएर व्यक्तिगत रूपमा लाभ लिने अवस्था नहोस् भन्ने सम्बन्धमा केही व्यवस्था गरिएको छ, त्यसमा आपत्ति मान्नुपर्ने कुनै विषय छैन,’ कोषका एक अधिकारीले भने ।