काठमाडौँ - राष्ट्रिय जनता पार्टीकी नेता एवं सांसद रानी मण्डलले हालै विनियोजित बजेटलाई दूषित मानसिकताबाट ग्रसित भएको टिप्पणी गरेकी छन्।
बिहीबारको संसद बैकठमा बोल्दै सांसद मण्डलले भनिन्, ‘बजेट प्रधानमन्त्री, उनका आसेपासे, नातागोता र पहुँचवाला छ। यसले समृद्धि हासिल हुँदैन। विकासको नाममा पक्षपाति तवरबाट बजेट बिनियोजन गर्ने काम भएको छ। यो विभेदकारी बजेट हो।’
सामान्य प्रशासन मन्त्रालयले बिनियोजन गरेको बजेटमा प्रदेश नम्बर १ लाई बढी प्राथमिकता दिएको सांसद मण्डलको आरोप छ। उनले भनिन्,‘प्रदेश नम्बर १ को स्थानीय प्रधानमन्त्री हुनुहुन्छ, अर्थमन्त्री हुनुहुन्छ, सामान्य प्रशासनमन्त्री पनि हुनुहुन्छ। त्यसैले त्यहाँ बजेट र कार्यक्रमहरू छुट्याइएको होला। यसरी दूषित मानसिकताबाट बिनियोज गरिएको बजेटले समृद्धि आउँदैन।’
उनले सात प्रदेशको लागि छुट्याइएको बजेटले सरकार विभेदकारी र पक्षपाति मानसिकताबाट अघि बढिरहेको बताइन। सामान्य प्रशासन मन्त्रालयले विकासको नाममा प्रदेश नम्बर १ को लागि ४ अर्ब ३१ करोड ६८ लाख छ बजेट छुट्याएको छ भने प्रदेश नम्बर २ को लागि एक अर्ब १८ करोड ३५ लाख मात्रै छ।
त्यस्तै मन्त्रालयले प्रदेश नम्बर ३ को लागि २७ अर्ब ५६ करोड २३ लाख, गण्डकी प्रदेशको लागि एक अर्ब ९४ करोड १० लाख, प्रदेश ५ को लागि एक अर्ब ४७ करोड ५७ लाख बजेट विनियोजन गरिएको छ। कर्णाली प्रदेशको लागि दुई अर्ब ६४ करोड ८७ लाख र सुदुएक अर्ब ६९ करोड २६ लाख बिनियोजन छ।