काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रूपमा ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्ने भएको छ। उक्त योजना यही जेठ २६ गतेदेखि सञ्चालन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको सम्मिश्रण रहेको छ। याे योजना नेपालको बीमा बजारमा नौलो भएको कम्पनीकाे दाबी छ। केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई लक्षित गरी ल्याइएको याे याेजनामा प्रस्तावक (अभिभावक)को मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम एकमुष्ट भुक्तानी गरिनेछ।
बीमाङ्क रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन–तीन महिनामा बीमाङ्क रकमको २ दशमलव ५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन)को रूपमा पाइरहने, बाँकी अवधिका लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्तिपछि पुनः बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ।
साथै, प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्षसम्म त्रैमासिक रूपमा बीमाङ्क रकमको २ दशमलव ५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्थासमेत गरिएको छ।
नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्युपछि बीमा योजना रद्द हुने व्यवस्था छ। तर, यस कम्पनीले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्युपछि पनि बीमाले निरन्तरता पाइरहने कम्पनीले जनाएको छ। सो बीमा परिवारको इच्छाइएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था छ। प्रस्तावक जीवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तिपछि बीमाङ्क र आर्जित बोनस एकमुष्ट पाउने व्यवस्था रहेको कम्पनीले बताएकाे छ।