काठमाडौँ - नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको हितग्राही खाता सञ्चालन नवीकरण तथा मेरो शेयरको वार्षिक नवीकरण शुल्क सीधै अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको छ। साथै, नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाइनमार्फत नै मिलाइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नविल बैंकबाहेकका अन्य बैंकहरूमा खाता रहेका ग्राहकहरूले पनि सीधै भुक्तानी गर्न सक्नेछन्। ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेबसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्नेछन्। नविल बैंकको अनलाइन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङबाट भुक्तानी गर्ने व्यवस्था पनि मिलाइएको जनाएको छ।
लगानीकर्ताहरूले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाइनमार्फत फाराम भर्न सक्नेछन्। उक्त फाराम भरेको ३० दिनभित्र आफ्नो सक्कल नागरिकतासहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोलिने व्यवस्थासमेत मिलाइएको कम्पनीले बताएकाे छ।