काठमाडौँ – कुमारी बैंक लिमिटेडले आगामी जेठ ३१ गते विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीको विशेष साधारणसभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौँमा अपराह्न १२ः३० बजे शुरू हुने भएकाे छ। सभा गर्न जेठ २० गते बुक क्लोज गर्ने भएको छ। त्यसैगरी, जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने शेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट २/२ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।
बैंकले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारणसभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो। उक्त सभाबाट लगानीकर्तालाई आव २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आव २०७४/७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिएको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६३ पैसा रहेको छ।