विराटनगर – फरवार्ड कम्यूनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ। सुनसरीको दुहवीमा केन्द्रीय कार्यालय रहेको सो वित्तीय संस्थाको छैठौँ वार्षिकोत्सव आइतबार नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरेका हुन्।
सो अवसरमा बोल्दै मन्त्री महासेठले फरवार्ड कम्यूनिटी माईक्रो फाइनान्स वित्तीय संस्थाले विपन्न समुदायका महिलाहरुलाई ऋण प्रवाह गरी उद्यमी तथा व्यवसायी बनाएर देशको गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले फरवार्डले महिलाहरुलाई ऋण लगानी मात्र नगरेर ऋणको उचित सदुपयोग गरी समुदायमा सक्षम बनाउनसमेत सहयोग गर्ने गरेको बताए।
साे अवसरमा विभिन्न व्यक्तित्व, शाखा, शेयर सदस्य, उत्कृष्ट सदस्य लगायतलाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो। कार्यक्रममा फरवार्डको देशभरका २ सय ७९ वटा केन्द्रलाई सम्मानसहित ५ लाख ७० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।
त्यस्तै संस्थाका २५ जना सदस्य, ३ वटा उत्कृष्ट शाखा, ८ वटा शाखा कार्यालय प्रमुख, १७ जना फिल्ड कर्मचारी, कार्यालय सहयोगी ३ जना र ५ जनालाई विशेष सम्मान गरिएको थियो।
फरवार्डले चालु आर्थिक वर्षको यो अवधिसम्म २६ करोड ९७ लाख ६५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनाइएको छ। ४ अर्ब ४१ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको फरवार्डले हालसम्म ९ अर्ब ९९ करोड, ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
दिवसकै अवसरमा वित्तीय संस्थाले विराटनगरस्थित विराट आँखा अस्पताल र संजिवनी अस्पतालको सहकार्यमा निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो।