काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ। उक्त साधारणसभा हिजो शनिबार वीरगञ्जमा सम्पन्न भएकाे हो।
सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर रु.२३ दशमलव ५० (करसहित) वितरणको प्रस्ताव पारित भएको छ। सभाबाट आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ।
हाल यस कम्पनीको लगानी रू. ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ। कम्पनीमा १ लाख २२ हजार भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता रहेकाे कम्पनीले जनाएको छ।