वीरगञ्ज – आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी गर्ने ३ जनालाई बाराको कलैयाबाट प्रहरीले पक्राउ गरेको छ।
सुराकीको अधारमा प्रहरीले कलैया–५ घुसुकपुर टोलस्थित हरेराम साहको घरमा सट्टाबाजी भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हरेराम साह, वडा नं. ६ बस्ने दरोगा अन्सारी र राकेश साह रहेका छन्।
उनीहरुको साथबाट नगद ९४ हजार नगद पनि फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १ सय २५को उपदफा ४ बमोजिम सट्टाबाजी (जुवा) मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट हिरासतमा राख्न पाँच दिनको म्याद थप भएको बाराका प्रहरी इन्स्पेक्टर सानुराम भट्टराईले जानकारी दिए।