काठमाडौं । नेपाल प्रहरीका विभिन्न डिजिटल सेवामा प्राविधिक समस्या देखिएपछि वेबसाइट, मोबाइल एप तथा अनलाइन प्रणालीहरू सञ्चालनमा अवरोध आएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै आफ्नो आधिकारिक वेबसाइट, मोबाइल एप, अनलाइन भर्ना तथा छनोट प्रणाली र ट्राफिक नियम उल्लङ्घनसम्बन्धी जरिवाना अनलाइन भुक्तानी सेवामा समस्या देखिएको जनाएको हो।प्रहरीका अनुसार अवरुद्ध प्रणालीलाई पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीले काम गरिरहेको छ। समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको भए पनि सेवा कहिलेसम्म नियमित हुन्छ भन्नेबारे स्पष्ट समयसीमा सार्वजनिक गरिएको छैन।
डिजिटल सेवा प्रभावित भए पनि नागरिकलाई आवश्यक पर्ने आकस्मिक तथा अन्य अत्यावश्यक प्रहरी सेवाका लागि टेलिफोन सम्पर्कका माध्यम खुला रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ।प्रहरीका अनलाइन सेवामा आएको अवरोधका कारण डिजिटल माध्यमबाट सेवा लिन खोज्ने सेवाग्राही प्रभावित हुन सक्ने भएकाले सेवा नियमित नभएसम्म आवश्यक कामका लागि प्रहरीका उपलब्ध सम्पर्क माध्यम प्रयोग गर्न सकिनेछ।