काठमाडौं – व्यावसायिक सफलताको प्रसङ्गमा सर्च इञ्जिन गुगलका संस्थापक ल्यारी पेजले भनेका छन्, ‘जहिल्यै पनि उपभोक्ताको अपेक्षाभन्दा धेरै सेवा–सुबिधा उपलब्ध गराउनु।’
विश्वबजारमा पछिल्लो समय बढ्दो प्रविधिको प्रयोग, ग्याजेट र अन्य विद्युतीय सामग्रीको उत्पादनका विषयमा ल्यारीले भनेजस्तै अहिले उत्पादन र व्यापारमा सबैभन्दा बढी ध्यान पुर्याउनु पर्ने स्थिति छ। विश्वबजारको प्रभाव नेपालमा पनि परेको छ।
नेपाली बजार सानो होला, उपभोक्ता कम होलान्। तर, मौलिक विशेषतायुक्त उत्पादन र वितरण प्रणालीको विकास गर्दै उपभोक्ताको अपेक्षा पूरा गर्न सक्ने व्यवसायी नै यहाँ सफल हुन सक्छन्।
‘त्यसमा पनि इमान्दारिता र धैर्यता भएमात्रै व्यावसायिक सफलता हासिल हुन सक्छ,’ उद्यम अभियन्ता एवं सफल व्यवसायी नारायण रेग्मी भन्छन्, ‘अन्तर्राष्ट्रिय रुपमा भएका विकासलाई पछ्याउन चुनौतीपूर्ण छ, तर सम्भावना पनि राम्रो छ, त्यसका लागि दृढ अठोट चाहिन्छ।’
समयका पदचापहरुलाई पछ्याउँदै अघि बढ्दा सफलता हासिल गरेका व्यवसायी रेग्मीको जीवनकथा संघर्षपूर्ण र प्रेरक छ। उनले पैसाको अभावमा पनि संघर्ष गर्न कहिल्यै छाडेनन्। समस्यामा आत्तिएनन्।
केही ठूलै सफलता प्राप्त हुँदा पनि खुशियाली मनाउनतिर लागेनन्। आफ्नो गन्तव्य याद राखेर सन्तुलित रुपमा अघि बढिरहे। त्यसैले त उनी अहिले काठमाडौंका सीमित सफल, कर्मशील र इमान्दार व्यवसायीका रुपमा गनिन्छन्।
शुरुआत झ्यालढोका रङ्ग्याउने कामबाट
व्यावसायिक जीवनको शुरुआत घरका झ्यालढोका रङ्ग्याउने मजदूरीको कामबाट भयो व्यवसायी नारायण रेग्मीको। निर्माण क्षेत्रमा प्रवेश गर्दा रेग्मीका लागि संघर्षको मैदानमा प्रतिष्पर्धी धेरै थिएनन्। जसरी हुन्छ सफल हुनु थियो उनले।
त्यही संघर्षपूर्ण पथबाटै निर्माण क्षेत्रमा अहिले छुट्टै पहिचान बनाउन सफल भएका छन् रेग्मी। निर्माण क्षेत्रमा ख्याती कमाएका रेग्मीले नेपाली बजारमा छुट्टै महत्व र पहिचान स्थापित गरेका छन्।
संघर्षका ती दिन...
वि.सं. २०३२ साउन २१ गते मनमाया रेग्मी र भीमनाथ रेग्मीका सुपुत्रका रुपमा काभ्रेको चौँरी गाउँपालिकामा जन्मेका हुन् नारायण रेग्मी। उनको बाल्यकाल सोही गाउँमै बित्यो।
घरपरिवारको आर्थिक अवस्था कमजोर थियो। रेग्मीले कक्षा ६ सम्म गाउँकै सरस्वती माद्यमिक गोठपानी र कक्षा ६ देखि १० सम्म सर्वमङ्गला माद्यमिक विद्यालय पाँचखालमा पढे।
वि.सं. २०४९ सालमा एसएलसी पासगरी काठमाडौं आएपछि रेग्मीका संघर्षका दिन शुरु हुन्छ। उनी काठमाडौं आएर रत्नराज्य क्याम्पसमा पढ्न थाले।
घरको आर्थिक अवस्था कमजोर भएका कारण रेग्मीले काम गरेरै पढ्ने र बस्ने खर्चको जोहो गर्नुपर्ने थियो।
त्यसपछि काम खोजेर उनी कामसँगसँगै पढ्न थाले। ती संघर्षका दिन सम्झिँदै उनी भन्छन्, ‘काठमाडौं आएपछि बस्न र पढ्नका लागि धेरै मेहनत गरेँ, अभावहरु झेल्नु पर्यो, कहिलेकाही बहुतै दुःख लाग्थ्यो, तर मैले मेहनत गर्न चाहिँ छाडिनँ।’
एसएलसी सकेर काठमाडौँ आएपछि रेग्मीले चीनको खासा बजारबाट सामान ल्याएर बेच्न शुरु गरे। खासाका सामान ल्याएर बेच्ने कामपछि उनले ६ महिना हरियो तरकारीको व्यापार गरे। त्यसपछि ६ महिना पत्रिका बेच्ने काम पनि गरेको रेग्मीले स्मरण गरे।
करिब तीन वर्ष खासाको सामान ल्याएर बेचेका रेग्मीलाई दैनिकी चलाउन नै मुश्किल परेपछि २०५२ सालमा उनी निर्माण क्षेत्रमा प्रवेश गरे।
‘मेहनत धेरै गर्नुपर्ने, तर पनि खर्च चलाउन धौ–धौ,’ उनी भन्छन्, ‘त्यसपछि निर्माणको क्षेत्रमा अथाह सम्भावना देखेर नै मैले यो काम शुरु गरेको हुँ, मैले यही गर्नुपर्ने रहेछ भन्ने प्रमाणित पनि भयो।’
रेग्मीले जापानी टेक्ट्स (एक प्रकारको पेन्ट) मा पेन्टरको काम गरे। दिनको ६० रुपैयाँ पाउँथे उनी। झ्याल ढोकामा पेन्टिङ गर्नु पर्थ्याे।
‘शुरुमा काम पाएकैमा खुशी लाग्यो, जोखिम थियो, मेहनत धेरै गर्नुपर्ने थियो, तर काम पाएपछि एक प्रकारको उत्साह थियो,’ उनले भने।
आर्थिक संकटबाट त्यति सजिलै मुक्ति मिलेन। उनी समयको प्रतिक्षामा थिए। त्यतिबेला अहिलेको जस्तो काठमाडौंमा भौतिक संरचना निर्माण हुँदैनथे। त्यस कारण काम पाउनै गाह्रो हुन्थ्यो। ज्यालादारीमा डेढ वर्ष काम गरेपछि उनले ठेकेदारको जस्तै काम गर्न थाले।
रेग्मी रङ्ग लगाउने कामको ठेक्का लिन्थे। र, कामदार खाजेर काम गराउँथे। ‘त्यो काम म ज्योतिश्री प्रालिमार्फत् गर्थें,’ उनी भन्छन्, ‘कामदारलाई दिएर बचेको पैसा कम्पनीलाई दिन्थेँ, र कम्पनीले मलाई दिन्थ्यो, त्यसपछि मेरो आम्दानी केही मात्रामा बढ्यो।’
१४ वर्षमै रोजे संघर्षमा सघाउने साथी
नारायण रेग्मीको जीवन संघर्षमय र त्यति नै उल्लासपूर्ण पनि छ। जीवनलाई उत्सवका रुपमा परिणत गरेर कामलाई उनले पूजा गरे। हिन्दूशास्त्र अनुसार मानिसको जीवनमा जन्म, विवाह र महाप्रस्थान निश्चित हुन्छ।
रेग्मीका लागि जन्मेको १४ वर्षमै जीवनको महत्वपूर्ण दोश्रो कर्म लेखिएको रहेछ। २०४६ सालमा साबित्री रेग्मीलाई उनले जीवनसाथीका रुपमा भित्र्याए।
‘हो, अलि गज्जबै छ, मेरो विवाहको प्रसंग,’ उनी भन्छन्, ‘१४ वर्षमै विवाह गरेँ, जीवन यात्रामा साथी त चाहियो नि।’ नारायण र साबित्रीका ३ छोराछोरी छन् अस्मिता, स्वस्तिका र सुब्रत।
कामदारबाट उद्यम यात्रा
पेन्टर भएर निर्माण क्षेत्रमा लागेका रेग्मी पेन्टर पछि ठेकेदारको रुपमा देखा परे। सात वर्षपछि उनले आफ्नै व्यवसाय सुरु गरे। उनले शुरुमा रङ्गरोगन र जापानी टेक्चरसम्बन्धी व्यवसाय सुरु गरेका थिए।
व्यवसायी रेग्मीले सामानसहित रङ्गरोगनको काम गरे। वि.सं. २०६० सालमा एक साझेदारसँग मिलेर पुतलीसडकमा अफिस स्थापना गरे –डेकोरेटिङ बिल्डिङ मटिरियल फर्म। उनले उक्त फर्म करिव ७ वर्षसम्म सञ्चालन गरे। उक्त फर्मबाटै रङ्गरोगन, जापानी टेक्चर, पानी तताउने सोलार, भुइँको कार्पेट समेत बेच्न थाले।
व्यवसाय विस्तार गर्दै जाने क्रममा २०६८ सालतिर क्षमादेवी विल्डिङ मटेरियल प्रालि स्थापना गरेका रेग्मीले सिलिङसम्बन्धी सबै सामान सप्लाई र जडानको काम गर्न थाले। त्योसँगै यूपीभीसी झ्याल ढोका, यूपीभीसी छाना, जस्ता पाता आदिको सप्लाई र जडानको काम पनि शुरु गरे।
अब अत्याधुनिक शो–रुम
वि.सं. २०७२ सालको भूकम्पपछि विल्डिङ मटिरियल प्रालिको सहकार्य तोडियो। उनी भन्छन्, ‘अहिले निर्माण संसार प्रालि फर्म सञ्चालनमा छ। उक्त फ्याट्रीको अफिस जोरपाटीमा छ, शो–रुम लोकन्थलीमा निर्माण हुँदैछ।’
निर्माण संसार प्रालिमार्फत यूपीभीसी झ्याल ढोका, जस्ता पाता, यूपीभीसी रुफ लगायतका निर्माण सामग्रीको सप्लाई र जडानको काम गरिन्छ।
यससँगै प्रिफेब्रिकेट निर्माणका सम्पूर्ण सामग्री पनि उपलब्ध गराउने उनले बताए। अहिले रेग्मीको व्यवसायमा उनका आफ्ना भाइहरुले पनि सहयोग गरिरहेका छन्।
अबको योजना
अहिले निर्माण क्षेत्रमा निर्माण संसार प्रालि उत्कृष्ट कम्पनीका रुपमा परिचित छ। गुणस्तरलाई ध्यान दिँदै उपभोक्ताहरुलाई सामग्री उपलब्ध गराउने उनी बताउँछन्।
‘अहिले व्यवसाय राम्रो छ, हामीले ग्राहकलाई एउटै छानोमुनि निर्माण सम्बन्धी सम्पूर्ण सेवा दिइरहेका छौं, साथै उचित मूल्यमा गुणस्तरीय सामान पनि उपलब्ध हुँदा ग्राहकहरु पनि सन्तुष्ट हुनुहुन्छ,’ उनले भने।
सफल हुने कसरी?
दृढ इच्छाशक्ति, लगनशीतला र मेहनतबाटै सफल हुन सकिने रेग्मीको अनुभव छ। रेग्मी एक लगनशील व्यवसायी हुन्। अहिले उनले एक सय जनाभन्दा बढीलाई रोजगारी दिएका छन्।
उनी भन्छन्, ‘सफल हुन मेहनत, पेशाप्रतिको इमान्दारिता, निरन्तरता र लगाव हुन जरुरी छ, धेरैको चाहना तत्कालै परिणाम खोज्ने हुन्छ। तर, सफल हुनका लागि धैर्यता चाहिन्छन्।’