काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका छन् ।
मंगलबार फेसबुकमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गरिएको पत्रमार्फत महरले निर्वाचन प्रहरीलाई बिदाइपछि पनि सीप र उद्यमशीलतासँग जोड्न माग गरेका छन् ।
‘राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रोसामु छ,’ महरले पत्रमार्फत भनेका छन् ।
यस्तो छ महरको पत्र
मिति: २०८२/११/२६
सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं।
विषय: निर्वाचन प्रहरीका रूपमा राष्ट्रसेवामा खटिने युवाहरूलाई 'सीप र उद्यमशीलता' सँग जोड्दै युवा स्वरोजगार प्रवर्द्धन गर्ने राष्ट्रिय नीति निर्माण सम्बन्धमा।
महोदय,
आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो र यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको रूपमा खटिने हजारौं युवाहरूको योगदान अतुलनीय छ। तर, राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रोसामु छ। राज्यले आफ्नो ऊर्जाशील मानव पुँजी र जनसांख्यिकीय लाभ लाई चिनेर त्यसलाई अवसरका रुपमा विकास गर्नुपर्ने मैले महशुस गरेको छु ।
राज्यको दायित्व युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुमा मात्र सीमित हुनुहुँदैन। उनीहरूको बिदाइलाई 'बेरोजगारीको सुरुवात' नभई 'उद्यमशीलताको प्रस्थानबिन्दु' बनाउन नितान्त आवश्यक छ। निर्वाचनपछि उनीहरूलाई खाली हात फर्काउनुको साटो, उनीहरूको रुचि र स्थानीय स्रोत–साधनको सम्भाव्यतामा आधारित सीपमूलक तालिम (जस्तै: आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप, घरेलु उद्योग आदि) प्रदान गर्ने र उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सुदृढ राष्ट्रिय नीति निर्माण गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
यस प्रकारको बृहत् आर्थिक तथा सामाजिक रूपान्तरणको अभियान संघीय सरकारको एकल प्रयासले मात्र सम्भव हुँदैन। यसका लागि नीतिगत, प्राज्ञिक र कार्यान्वयनको तहमा बहुपक्षीय समन्वय आवश्यक पर्दछ। तसर्थ, म यसै पत्रमार्फत निम्न निकायहरूलाई यस महाअभियानमा संस्थागत समन्वय र ठोस योगदान गर्न विशेष आह्वान गर्दछु:
१. विश्वविद्यालय र अनुसन्धान संस्था: देशका विश्वविद्यालयहरूले नवप्रवर्तन, उद्यमशीलताको मोडेल र बजार अनुसन्धानमा प्राज्ञिक नेतृत्व लिनुपर्दछ।
२. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT): सीटीईभीटीले समय सान्दर्भिक, छोटो अवधिका तर उच्च प्रतिफल दिने व्यावहारिक सीप र प्राविधिक पाठ्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्नुपर्दछ।
३. प्रदेश र स्थानीय सरकार: सीप सिकेर गाउँ फर्केका युवाहरूलाई बीउ पुँजी, सहुलियतपूर्ण कर्जा, प्रविधि हस्तान्तरण र उत्पादित वस्तुको बजार व्यवस्थापनमा प्रदेश र स्थानीय तहले आफ्नो बजेट तथा नीति कार्यक्रममार्फत अभिभावकत्व ग्रहण गर्नुपर्दछ।
सानो पुँजी र सीपबाट सुरु हुने यस्ता हजारौं स्थानीय उद्यमले एकातिर देशमा व्याप्त बेरोजगारी र मस्तिष्क पलायनको डरलाग्दो शृंखलालाई रोक्न मद्दत पुर्याउँछ भने, अर्कोतिर आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ऐतिहासिक भूमिका खेल्नेछ।
तसर्थ, सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष मेरो जोडदार माग छ कि गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा 'निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम' (वा यस्तै प्रकृतिको) नीति तथा कार्यविधि तत्काल मन्त्रिपरिषद्बाट पारित गरी देशव्यापी रूपमा लागू गरियोस्। निर्वाचन प्रहरीका रुपमा राष्ट्र सेवा गरेका हाम्रा युवाहरुको हातमा कम्तिमा, 'सीप र स्वरोजगारको सुनिश्चितता' पनि होस्।
युवाहरूको ऊर्जालाई राष्ट्र निर्माणको मूलधारमा जोड्ने यो युगीन र बौद्धिक कदममा नेपाल सरकारले तत्काल पहलकदमी लिनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
भवदीय,
नैनसिंह महर
प्रतिनिधिसभा सदस्य उम्मेदवार २०८२
नेपाली कांग्रेस
डडेल्धुरा
बोधार्थ:
१. माननीय गृहमन्त्री ज्यू, गृह मन्त्रालय, सिंहदरबार।
२. माननीय मन्त्री ज्यू, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार।
३. माननीय मन्त्री ज्यू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार।
४. माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय, सिंहदरबार।