काठमाडौँ । हालै सम्पन्न आम निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुखद संवाद भएको छ। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल (एक्स) मार्फत रास्वपाको जितमा बधाई दिएपछि बालेनले त्यसको हार्दिक जवाफ दिएका छन् ।
प्रधानमन्त्री मोदीको शुभकामनाका लागि धन्यवाद दिँदै बालेनले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले“नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।“ बताए ।
निर्वाचनमा रास्वपाले क्लिन स्वीप गरेसँगै छिमेकी मुलुक भारतले नेपालको नयाँ सरकारसँग निकट रहेर काम गर्ने इच्छा देखाएको यस संवादले प्रस्ट पारेको छ।
कूटनीतिक संवादका साथै बालेनले भारतीय खेलकुदको सफलतालाई पनि स्मरण गर्दै भारतले लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार र भारतीय जनतालाई हार्दिक बधाई समेत दिएका छन् ।