रवीन्द्रजी, केही दिनदेखि विसञ्चो भएकाले श्रद्धाञ्जलिका लागि आउन पाइन।
यो फोटो सन् २०१२ मा मेरो घरमा खिचिएको रहेछ। पूर्व माओवादीका प्रखर वक्ता तथा युवा नेता हेमराज भण्डारी (तस्बिरमा देब्रे) जसले लगभग ३० वर्षकै उमेरमा धनकुटामा पुराना पार्टीका पुराना नेतालाई चुनावमा हराएका थिए।
त्यति बेला तपाईं, गगन थापाजी, हेमराजजी र म सामूहिक रुपमा कहिलेकाहीँ भेट्थ्यौँ। यो देश हाम्रै पुस्तामा कसरी रुपान्तरण गर्न सकिएला भन्ने हाम्रो छलफलको मूल विषय हुन्थ्यो।
हामी सबै एकै पुस्तामा यो देश बदल्न सकिन्छ भन्नेमा सहमत थियौं। तर हामी एक ठाउँमा आउन सकेनौँ। आ–आफ्नै बाटोमा हिँड्यौं। तपाईंको र मेरो त पछि पनि धेरै पटक भेटघाट भयो, देशकै बारेमा विमर्श गर्न। प्रारब्धले तपाईंलाई चाँडै लिएर गयो।
तपाईंले छोडी जानुभएको पार्टी या अन्य कुनै पार्टीले एकै पुस्तामा यो देश रूपान्तरण गर्यो भने त्यो तपाईंका लागि सबैभन्दा ठूलो श्रद्धाञ्जलि हुनेछ।
मृत्यु कहिले, कुन बेला, कसरी, कसलाई, कहाँ लिन आउँछ –कसलाई के थाहा। गएपछि सबै खरानी। अमरत्वको पनि जानेलाई कुनै अर्थ हुँदैन। बाँच्नेहरूले त्यसमा अर्थ खोज्ने मात्रै हो।
त्यसैले, हामीले बाँचुञ्जेल इमानदारीपूर्वक मानव हुनाको कर्तव्य निर्वाह गर्यौं भने त्यसबाट बितेर गएका तपाईंलगायत सातै जानाको आत्माले चीर शान्ति पाउने छ।
मृत्युपश्चातको जीवन रहेछ भने कुनै दिन भेट हुनसक्छ। देश बनेको समाचार लिएर आउन पायौँ भने फेरि एकपटक तपाईंको सरल हाँसोसँगै खुसी बाँडौँला।
तपाईंको हितैषी
रवीन्द्र मिश्र