काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेपछि कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त गरेकी छन्। सरिनले सामाजिक सञ्जालमार्फत समानुपातिक सांसद चयनमा भूगोल र जातीय क्लस्टर समेटिएको नभएकोमा प्रश्न उठाइन्।
उनले लेखे, “कोशीको हकमा पहाडी भूगोल समेटिनु आवश्यक थियो, तर छनौटमा छुट्यो।” उनले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई, ताप्लेजुङकी मिरा लाबुङजस्ता योग्य उम्मेदवार सूचीमा नपरेकोमा पनि आपत्ति जनाइन्। सरिनले थपे, भौगोलिकता र जातीय क्लस्टर समेट्न नसक्दा संगठनमा भविष्यमा असर पर्न सक्छ। समुदायका व्यक्तिहरू केन्द्रीय नेताको वरिपरि भए पनि ध्यानाकर्षण गराउन नसक्नु दुःखद् छ। कार्यवाहक सभापति सरिन पहिले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार भएर पराजित भएकी थिइन्। तत्कालीन प्रदेश सभापति राजेश तिम्सिनामाथि अनुशासन कारबाहीपछि सरिनले रास्वपाको प्रदेश नेतृत्व सम्हालेकी हुन्।