काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले अख्तियारको चरम दुरुपयोग गर्दै आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा भर्ती गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल मार्फत उनले निर्वाचन गराउने दायित्व बोकेको सरकारले निर्वाचन सम्पन्न गरेर अब बहिर्गमनको बेलामा भने जेनजी विद्रोहको मूल मर्ममाथि नै प्रहार हुने गरी सुशासनलाई धज्जी उडाउँदै आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउनु निन्दनीय भएको बताएका हुन् ।
निर्वाचन गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल सत्ताबाहिर बस्न नचाहेर आफू सम्मिलित मन्त्रिपरिषदबाट राष्ट्रिय सभामा मनोनीत हुन सिफारिस हुनु र प्रधानमन्त्रीले आफ्नो पिए आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शीताको उपहास भएको उनको टिप्पणी छ।
जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुको साटो आफ्ना आसेपासेलाई राज्यका निकायमा भर्ती गर्न व्यस्त हुनु लज्जाको विषय भएको उनले बताए। उनले विवादास्पद नियुक्तिको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।