काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा यो कार्यक्रम सञ्चालन हुनेछ रास्वापाले जनाएको छ।
प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै नवनिर्वाचित सांसदहरूका लागि अनिवार्य गरिएको यस कार्यक्रममा सहभागी हुन पार्टीले विभिन्न सात बुँदे कडा निर्देशन समेत जारी गरेको छ।
रास्वापाले सांसदहरूको खाना र आवास (सेयरिङ बेसिस) को व्यवस्था पार्टीले नै गर्ने जनाएको छ । कार्यक्रमलाई अनुशासित बनाउन हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
अभिमुखीकरण अवधिभर सांसदहरूले परिवारका सदस्य, साथी वा अन्य कुनै पनि पाहुनालाई होटलमा आमन्त्रण गर्न पाउने छैनन्। कार्यक्रम स्थलमा कुनै पनि बाह्य व्यक्तिसँग भेटघाट गर्ने, फोटो खिच्ने वा बैठक गर्न समेत रोक लगाइएको छ।
सूचनामा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको भए तापनि चालक तथा अन्य सहयोगीहरूको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसदले नै गर्नुपर्ने उल्लेख छ। उनीहरूको व्यवस्था अन्य होटल वा स्थानमा गर्न पार्टीले अनुरोध गरेको छ।
सांसदहरूलाई ’बिजनेस क्याजुअल’ पोशाकमा उपस्थित हुन निर्देशन दिइएको छ। कार्यक्रम चैत ३ गते बिहान १०ः०० बजेदेखि सुरु हुनेछ।
निर्वाचनपछिको संसदीय भूमिका, पार्टीको नीति र संसद्मा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रस्ट पार्न यो कार्यक्रम आयोजना गरिएको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ।
