काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सरकारी सेवा प्रवाहलाई आधुनिक र जनमैत्री बनाउन नयाँ ‘पब्लिक एनाउन्समेन्ट सिस्टम’ (सार्वजनिक घोषणा प्रणाली) सहितको लाउन्ज मोडेल सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच यो नवीनतम प्रणालीको औपचारिक सुरुवात गरिएको हो।
नयाँ प्रणालीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले परम्परागत सरकारी कार्यशैलीलाई पूर्णतः परिवर्तन गरिएको जानकारी दिनुभयो। “अहिलेका सरकारी कार्यालयमा कर्मचारी भित्र र सेवाग्राही बाहिर रहने संरचना छ, जसले गर्दा दूरी बढेको थियो,“ पौडेलले भन्नुभयो, “हामीले त्यसलाई हटाएर कर्मचारी र सेवाग्राही एउटै स्थानमा बसेर सेवा लिने÷दिने व्यवस्था गरेका छौँ।“
झ्याल प्रणालीको अन्त्यः सेवाग्राहीले अब झ्यालमा झुन्डिएर वा उफ्रिएर कुरा गर्नुपर्ने बाध्यता हटेको छ। कुन सेवाग्राहीको पालो आयो भन्ने जानकारी आधुनिक साउन्ड सिस्टममार्फत गराइनेछ। लाइनमा घण्टौँ उभिनुको साटो सेवाग्राहीहरू लाउन्जमा बसेर आफ्नो पालो पर्खिन सक्नेछन्। सेवा प्रवाहलाई थप व्यवस्थित र पारदर्शी बनाइएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले यो मोडेल नागरिकको चाप बढी हुने अन्य निकायहरू जस्तै मालपोत, नापी, यातायात र स्थानीय तहका वडा कार्यालयहरूमा पनि लागू गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि मन्त्रिपरिषद्बाटै निर्णय गराउन आफूले निवेदन समेत पेश गरिसकेको उनले जानकारी दिएका छन् ।
“लाइनबाट लाउन्ज मोडेलमा हामी प्रवेश गरेका छौँ। यो प्रणालीले सरकारी सेवालाई थप व्यवस्थित र सेवामुखी बनाउनेछ,“ प्रजिअ पौडेलले भने ।
यसैबीच, प्रधानमन्त्री शुसीला कार्कीले समेत जिल्ला प्रशासन कार्यालय पुगेर उक्त नयाँ प्रणाली र व्यवस्थापनको अवलोकन गरेकी छन् । यो मोडेल सफल भएमा नेपालका अन्य व्यस्त सरकारी कार्यालयहरूको सेवा प्रवाहमा ठूलो क्रान्ति आउने अपेक्षा गरिएको छ।