जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ भारतीय विद्यार्थी सहित ५० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । कुनै समय पछाडि परेको यो क्षेत्र पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको कोटा निर्धारण गरेको थियो । दोस्रो वर्ष ३०, त्यसपछि तेस्रो र चौथो वर्षमा ५०–५० जनाको कोठा दिएको प्रतिष्ठानले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्र अन्तर्गत स्नातक (एमबिबिएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो । जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताए।
प्रतिष्ठानले एमबिबिएसको अध्यापन गर्न थालेको पनि चार वर्ष हुँदै छ र चौथो ब्याच पढ्न आएका विद्यार्थीलाई स्वागत गरिएको छ । चिकित्सक शास्त्र बाहेक अरू संकाय अन्तर्गत बी–पिएच, बी–फार्मेसी, बिएस्सी नर्सिङ र बिएनएसको २०–२० जनाको कोटा पाएको प्रतिष्ठानका निर्देशक थानीले जानकारी दिए ।
दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौंसम्म विकासका अवसरबाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजन रोकायाले बताए।
प्रतिष्ठानमा अहिले एमबिबिएस, बी–एनएस, बी–फार्मेसी, बिएससी नर्सिङ, बी–पिएच लगायतका विषय अध्ययन हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।