काठमाडौं । अस्ट्रेलियामा नेपाली समुदायको संख्या पछिल्लो एक दशकमा उल्लेखनीय रूपमा बढेको छ।
सन् २०१४ को तुलनामा सन् २०२५ सम्म अस्ट्रेलियामा बसोबास गर्ने नेपालमा जन्मिएका नेपालीको संख्या करिब पाँच गुणा पुगेको छ।इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना रहेका छन्। सन् २०१४ मा यो संख्या ४२ हजार ९०० मात्र थियो। सन् २०२१ को जनगणनामा भने १ लाख २२ हजार ५०६ जना नेपाली अस्ट्रेलियामा रहेको उल्लेख थियो।
आईआईडीएसले अस्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा तयार पारेको प्रतिवेदनमा नेपाली समुदायको सामाजिक, आर्थिक तथा व्यावसायिक अवस्थाबारे पनि अध्ययन गरिएको छ।अध्ययनका क्रममा १ हजार ८९ जनासँग सर्वेक्षण गरिएको थियो। साथै, विभिन्न क्षेत्रका सरोकारवालासँग १८ वटा अन्तर्वार्ता र दुईवटा समूहगत छलफलसमेत गरिएको थियो।
सर्वेक्षणमा सहभागीमध्ये ६१.१६ प्रतिशत नेपाली उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अस्ट्रेलिया पुगेको पाइएको छ। त्यस्तै, करिब २३ प्रतिशतले परिवारसँग पुनर्मिलन हुन अस्ट्रेलिया आएको बताएका छन्।प्रतिवेदनले अस्ट्रेलियामा नेपालीहरूको सहभागिता विद्यार्थी र रोजगारीमा मात्र सीमित नरहेको देखाएको छ। पछिल्लो समय नेपालीहरू व्यवसाय, लगानी, उद्यमशीलता र व्यावसायिक सेवाका क्षेत्रमा पनि सक्रिय हुँदै गएको अध्ययनमा उल्लेख छ।
आर्थिक अवस्थातर्फ सर्वेक्षणमा सहभागी ४५.२७ प्रतिशतको वार्षिक आम्दानी ६५ हजारदेखि १ लाख २० हजार अस्ट्रेलियन डलरसम्म रहेको देखिएको छ। त्यस्तै, करिब ३५ प्रतिशतले अस्ट्रेलियामा औपचारिक लगानी गरेको बताएका छन्।अध्ययनले विदेशमा रहेका नेपालीको योगदानलाई रेमिट्यान्समा मात्र सीमित नगरी उनीहरूले हासिल गरेको ज्ञान, सीप, प्रविधि, लगानी र व्यावसायिक अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने सुझाव दिएको छ।
आईआईडीएसका कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले विदेशमा रहेका नेपालीको आर्थिक तथा बौद्धिक क्षमतालाई नेपालको समृद्धिमा उपयोग गर्नुपर्ने बताएका छन्। अस्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अर्नेस्टले पनि त्यहाँको नेपाली समुदायलाई नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेका छन्।